
छेपेटार बजार अनुगमन : म्याद गु्रजिएका सामग्री जफत
जिल्लास्तरीय बजार अनुगमन टोलीले आइतबार गोरखा नगरपालिका वडा नं १० स्थित छेपेटार बजारमा अनुगमन गरेको छ । सो टोलीले अनुगमनका क्रममा भेटिएका म्याद गु्रजिएका खाद्य सामाग्री जफत गरी नष्ट गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भूजेलको नेतृत्वमा भएको जिल्लास्तरीय बजार अनुगमनको क्रममा करिब १० हजार रुपैयाँ भन्दा बढि मूल्य पर्ने म्याद सकिएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको हो । वडा नं १० का वडा अध्यक्ष प्रदीप कुँवरको रोहबरमा कार्यालय प्रमुख, विभिन्न संघसंस्था र स्थानीयहरुको प्रत्यक्ष सहभागितामा नष्ट गरिएको थियो ।

टोलीले आइतबार छेपेटार बजारका विभिन्न कपडा पसल, किराना पसल, खाजाघर, औषधी पसल, खाद्यान्न, मासु, कस्मेटिक लगायतका गरी ३७ भन्दा बढी पसलको अनुगमन गरेको थियो । सो क्रममा अधिकांशले व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, बिल जारी गरी कारोबार नगर्ने गरेको, पसलमा साइबोर्ड, मूल्यसूची नराखिएको र म्याद नाघेका खाद्य सामग्रीहरु बिक्री वितरण गर्ने गरेको भेटिएको थियो ।

दर्ता नगरी सञ्चालन गरिएका र दर्ता नविकरण नगरेका व्यवसायहरुलाई समयमै दर्ता र नवीकरण गर्न निर्देशन दिएको छ ।
हरेक व्यवसाय भ्याटमा कारोबार गर्न निर्देशन दिएको घरेलु कार्यालय गोरखाका प्रमुख सुर्य भुजेलले जानकारी दिए । अनुगमनका क्रममा म्याद नाघेका खाद्यन्न सामग्रीहरुलाई आइतबार नै जफत गरी नष्ट गरिएको छ ।


जिल्ला स्तरीय बजार अनुगमन टोलिमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख सूय भुजेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत छवि श्रेष्ठ, वडा अध्यक्ष प्रदीप कुँवर, स्वास्थ्य कार्यालयका नवराज खड्का, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका विशन गिरी, गोरखा नगरपालिकाका रामकुमार श्रेष्ठ, कृषि ज्ञान केन्द्रका राजेश बयलकोटी, उद्योण वाणिज्य संघ मनकाजी श्रेष्ठ, चेम्बर अफ कमर्श छेवेटार इकाइका अध्यक्ष कमलनारायण श्रेष्ठ, पत्रकार महासंघका सहसचिव केशव गुरुङ र सुरक्षा निकायकातर्पmबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




