| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका प्रदीप रोदनको गजलकृति ‘मफलर’को विमोचन

गोरखाका गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसंग्रह मात्र नभएर, मन्त्रहरूको संग्रह रहेको बताए । ‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ उनले भने, ‘खारिएका पवित्र वाक्य यस संग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।’

‘मफलरमा जीवन र हृदयको यस्तो ध्वनि छ, जहाँ अध्यात्म, व्यवहार र दर्शन मिसिएको छ’, साहित्यकार न्यौपानेले थपे । यस्तै कार्यक्रममा लेखक रोदनले गजल लेख्दा आफूले कैयौं पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसुस गरेको बताए ।

‘केही नबन्दा अरु केही बन्दो रहेछ । यसरी सेरहरूको माया क्षेत्र हृदयको गहिराइसम्म पुग्यो र गजल बने । जहाँ गजल बनेनन्, त्यहाँ फर्दहरू बने,’ उनले भने, ‘थाहा छैन, यी गजलले तपाईंको जीवनमा सौन्दर्य थप्छन् या थप्दैनन् । यी गजल मैले सृष्टि गरेका बचेराहरू हुन् । आजसम्म आफ्नै पखेटामुनिको न्यानोमा हुर्काएँ । अब यी गजलका आफ्नै पखेटा पलाए होलान् भनेर तपाईंहरूकै संसारमा उडान भर्न पठाएको छु ।’

यी सम्पूर्ण गजल आफूले गोरखाको पालुङ्टार ९ पाण्डेबेसीको माटोमा बसेर लेखेको पनि उनले बताए । गोरखाको पालुङटार ९ मा पर्ने पाण्डेबेसी गजलकार रोदनको जन्मथलो हो । उनी आफ्नै गाउँको सरकारी विद्यालयमा शिक्षक छन् । देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका रोदनको पहिलो गजलकृति हो, ‘मफलर’ ।
उनले वि.स. २०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, २०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र २०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्