| मङ्लबार, कार्तिक २४, २०८३

नवौँ राष्ट्रिय खेलकुद अन्तरगत गोरखामा बुद्धिचाल प्रतियोगिता हुने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ अन्तरगत गोरखामा हुने बुद्धिचाल प्रतियोगिता संचालनका लागि सरोकारवाला निकायहरु बीच छलफल भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबार नवौँ राष्ट्रिय खेलकुद अन्तरगतको बुद्धिचाल प्रतियोगिता संचालन गर्नका लागि सरोकारवाला निकायहरुसँग छलफल गरेको हो ।

छलफल कार्यक्रममा सहभागिता सबैले बुद्धिचाल प्रतियोगिता संचालनका लागि सबैले आवश्यक तयारी थाल्नुपर्ने बताएका थिए । आगामि असोज २७ गतेबाट गोरखा क्याम्पसको हलमा बुद्धिचाल प्रतियोगिता सुरु हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं बस्नेतले बताए । तर खेलाडीहरु र अफिसियल टिम भने २६ गते नै गोरखा आइपुग्ने छन् । सो प्रतियोगितामा सात वटै प्रदेश, तीन वटा विभागीय टिम र एउटा गैरआवासीय नेपाली टिम गरी कुल ११ टिमले प्रतियोगितामा सहभागिता जनाउने छ ।

गोरखा क्याम्पसको हलमा २७ गतेबाट सुरु हुने प्रतियोगिता कात्तिक २ गतेसम्म चल्नेछ । विहान आठ बजेदेखि बेलुका ५ बजेसम्म प्रतियोगिता संचालन हुनेछ । खेलाडी अफिसियल सदस्य सबै गरेर करिब एकसय ४० जना आउने भएकाले उनीहरुको खानपान र बस्ने ठाउँको व्यवस्थापनका लागि सबैसँग छलफल भइरहेको उनले बताए ।

त्यस्तै, बुद्धिचाल खेल प्रतियोगिता संचालनका लागि हाल कोठाको व्यवस्थापन, टेबल, कुर्ची लगायतका आवश्यक सामग्रीहरु पनि व्यवस्थापन गर्ने कार्य भइरहेको उनले जानकारी दिए । गोरखामा हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिा २०७९ लाई सफल पर्न सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी संघसंस्था सबैले सहयोग गर्न समेत उनले अनुरोध गरेका थिए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ गण्डकी प्रदेशले आयोजना गर्दैछ । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने विभिन्न विधाका खेलहरु मध्य बुद्धिचाल प्रतियोगिता गोरखामा हुन लागेको हो ।
छलफल कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगर, आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली, गोरखाका क्याम्पस, उद्योण वाणिज्य संघ लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्