
मनकामना बहिरा माविमा स्थायी दरबन्दी माग
गोरखा नगरपालिका वडा नं १० मा रहेको मनकामना बहिरा माविलाई स्थायी दरबन्दी व्यवस्था गरिदिन माग गरिएको छ । शुक्रबार विद्यालयको २४ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्ने अधिकांश वक्ताहरुले विद्यालयमा आवश्यक स्थायी दरबन्दी अनुसारको शिक्षक परिपूर्ति गरिदिन नगरपालिकासँग माग गरेका हुन् ।
विद्यालयमा आवश्यक दरबन्दी नभएकाले पठनपाठनमा समस्या पर्ने गरेको भन्दै बक्ताहरुले स्थायी दरबन्दी परिपूर्ति गरिदिन विद्यालय व्यवस्थापन समितिका सल्लाहकार रामबाबु श्रेष्ठले नगरपालिकासंग माग गरेका थिए । विद्यालयमा दरबन्दी कम रहेको स्थायी दरबन्दी नभएका कारण विद्यालयको पठनपाठनमा समस्या भएको उनको भनाइ छ ।
विद्यालयमा पर्याप्त मात्रामा शिक्षक दरबन्दी नहुँदा शैक्षिक उपलब्धी अपेक्षाकृत नभएको विद्यालयका प्रधानाध्यापक अनिल अम्गाईले बताए । कार्यक्रममा द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाका रामचन्द्र दुवाडीले अपाङ्गता भएका विद्यालयमा विद्यार्थीहरुलाई पठन पाठनका लागि शैक्षिक अभाव हुने गरेकाले सबैले सहयोग गरिदिन आग्रह गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले मनकामना बाहिरा मावि गण्डकी प्रदेशकै नमूना मावि भएकाले यस विद्यालयको स्तरोन्नतिमा निरन्तर लागि परेको बताइन् । यस आर्थिक बर्षमा पनि कोही सो विद्यालयका लागि बिनियोजन गरेको उनले बताइन् । विद्यालयको कम्पाउण्ड वरपर तारबार गर्नका लागि ४ लाख रुपैया छुट्याइएको उनले बताइन् । उनका अनुसार आगामी दिनमा पनि नगरपालिको थप सहयोग गर्दै जाने उनले बताइन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल अंम्गाईले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा हाल एक कक्षा देखि ११ कक्षासम्म एक सय २२ जना विद्यार्थी अध्ययनरत रहेको उनले बताए । चालु आर्थिक वर्ष २०७९÷०८० बाट कक्षा ११ पनि संचालन गरिएको उनले बताए ।
त्यस्तै, विद्यालय भवन निर्माणका लागि गोरखा नगरपालिका १० विरिन्चोकबाट उत्तर पुर्वपर्ने चालिसे भन्ने स्थानमा करिब ३० रोपनी जग्गा खरिद गरिएको छ । गण्डकी प्रदेशको पुर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालय कार्यक्रम अन्तरगत खरिद गरिएको जग्गामा छिट्टै भवन निर्माण सुरु गर्ने उनले बताए ।
हाल विद्यालयको भवन निर्माणका लागि गुरुयोजना निर्माण गरी सोहि अनुसार डिपिआर तयार पारी स्थानीय तहबाट स्विकृत गराई भवन निर्माण कार्यसुरुवात गरिएको उनले जानकारी दिए । उक्त कार्यक्रमका लागि चालु वर्ष तीन करोड रुपैया प्राप्त भएको छ । सो रकमबाट विद्यालयको गुरुयोजना निर्माण, डिपिआर तयार गर्ने, तीनतले छात्रावास भवन र कम्पाउण्ड वाल निर्माण लगायत कार्यहरु भइरहेको उनले बताए । विद्यालयमा हाल ९ वटा जिल्लाबाट विद्यार्थीहरु पढ्न आउँछन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल अंम्गाई, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष खडानन्द रेग्मी, गोरखा नगरपालिकाकी मेयर मसली माया थोकर, शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्य, नगरपालिका शिक्षा शाखाका प्रतिनिधि विश्वनाथ वाग्ले, गोपालबाबु मरहट्टा, शिक्षक महासंघ गोरखा नगरका अध्यक्ष पुरुषोत्तम भटराई, द्रव्य शाह बहुमुखी क्याम्पसका प्रधानाध्यापक रामचन्द्र दुवाडी, नगरपालिकाकी सदस्य सावित्रा थापामगर लगायतको उपस्थिति रहेको थियो ।




