
फुटपाथ खाली गर्न गोरखा नगरपालिकाको निर्देशन
गोरखा नगरपालिकाले गोरखा बजारको फुटपाथमा राखिएका सामान हटाउन निर्देशन दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै गोरखा बजारको सडक क्षेत्र आपसपासमा रहेका फुटपाथ अतिक्रमण गरी राखिएका पसल एवं पसलका सामग्री र सवारी साधनहरुलाई तुरुन्त हटाउन निर्देशन दिएको हो ।
यसअघि पनि फुटपाथ अतिक्रमण गरी राखिएका सामग्री हटाउन पटकपटक निर्देशन दिँदै आएको तर व्यापारीहरुले भने अटेरी गर्दै आएका छन् । यसरी अटेरी गरी फुटपाथमा राखेका सामग्रीहरुलाई जुनसुकै बेला पनि नगरपालिकाको गाडी ल्याएर बरामद गरी नियमानुसारको कारवाही गर्ने समेत सूचनामा उल्लेख छ ।
त्यस्तै, चाडपर्वको अवसर पारी उपभोक्ताहरुलाई महंगो मूल्यमा सामान बेच्ने र सडेगलेका सामान विक्री वितरण गर्ने गरेको पाइएमा त्यस्ता व्यापारीहरुलाई कानुन अनुसार समेत कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।




