
आर्थिक उत्पादन र विकासलाई सँगै जोड्नुपर्छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले बिकासलाई आर्थिक उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । दोस्रो लिगलिग पालुङटार महोत्सवको उद्घाटन गर्न बुधवार पालुङटार आएका उनले भने ‘बिकास मात्रैले जनताको स्तरवृद्धि हुँदैन, आर्थिक उत्पादनसँग जोड्नुपर्छ ।’
पालुङटारलाई स्मार्ट सिटी बनाउन पहिले त्यहाँ रहेका जमिनमा सिंचाईको सुविधा हुनुपर्ने उनले बताए । ‘स्मार्ट सिटी नाम मात्र हैन परिणाम हो’ उनले भने ‘गरिबीको अन्त्य, असमानताको अन्त्य, स्थानीय उत्पादनमा जोड, बातावरण मैत्री ठाउँ नै स्माट सिटी हो ।’ स्थानीय स्रोत साधनको प्रयोग गरेर पालुङटारलाई स्मार्ट सिटीको बाटोमा अघि बढाउन उनले स्थानीय सरकारलाई सुझाब दिए ।
सरकारले स्मार्ट सिटीको लागि बिनियोजन गरेको बजेट यहाँकालागि पनि रहेको बताउँदै उनले अहिले देशमा कतै स्मार्ट सिटी नरहेको बताए ।
देशमा अहिले आर्थिक संकट र तरलताको अवस्था रहेको बताउँदै अर्थमन्त्री शर्माले बाहिर उत्पादित सामग्री ल्याएर बिक्री गर्नु मात्र ब्यापार नभएको बताए । साथै उनले ब्यापार ब्यवशाय गर्नेहरुलाई स्थानीय उत्पादन केन्द्रित कार्यक्रममा ध्यान दिन सुझाब दिए ।
अहिले बैकंको ब्याज बढेको बताउँदै उनले त्यसलाई घटाएर उत्पादनमा लगानी गर्नुपर्ने बताए । बैकंको ब्याज धेरै हुँदा उत्पादनमा लगानी गर्ने भन्दा बैकंमा पैसा राख्ने प्रवृत्ति बढेको उनले बताए ।
राजनीतिक प्रसंग जोड्दै उनले संविधानको रक्षाकालागि गठबन्धनको सरकार आवश्यक रहेको बताए । निवाचन जित्न, सांसद, मन्त्री हुन मात्र नभई देशको धरातलीय आवश्यकतालाई ध्यान दिएर गठबन्धन गरिएको उनले बताए । न्याय नपाए गोरखा जानु भन्ने उक्ति जोड्दै उनले गोरखाली जनताले बिकास र समृद्धिमा न्याय नभएकाले त्यो खोजिरहेको बताए ।




