| मङ्लबार, कार्तिक २४, २०८३

कर्मसिङ फाँटमा ७० लाखभन्दा बढीको लिफ्ट सिंचाईमा पानी चल्यो

गोरखा नगरपालिका वडा नम्बर १३ कर्मसिङ फाँटमा ७० लाख भन्दाबढिको लगानीमा लिफ्ट सिंचाई आयोजना निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको लगानीमा निर्माण भएको उक्त योजनाको मंगलबार मन्त्री हरिशरण आचार्यले उद्घाटन गरेका हुन् ।
सिंचाई डिभिजन कार्यालय गोरखाले २०७६÷७७ देखि उक्त आयोजना निर्माण सुरु गरेको थियो । मन्त्रालयबाट ६९ लाख ७६ हजार र श्रमदानबाट गरी उक्त आयोजना निर्माण भएको डिभिजन कार्यालय गोरखाका प्रमुख प्रकाश लम्सालले बताए । उक्त आयोजनाबाट ४२ घरधुरी लाभान्वित भएका छन् ।

सोलार प्रणालीबाट संचालित उक्त आयोजनामा २१ वटा धारा निर्माण भएको छ भने १२ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ । ६८ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको इन्जिनियर बिष्णुहरि अधिकारीले बताए । उक्त योजनामा प्रतिसेकेन्ड १० लिटर पाउने आउनेछ ।
परम्परागत रुपमा गरिँदै आएको धान खेतीले मात्र जनताको जीवनस्तरमा परिवर्तन नआउने बताउँदै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री हरिशरण आचार्यले भने, ‘थोरै मेहनतबाट धेरै उत्पादन लिन १२ महिना सिंचाई सुविधाले मद्धत पुग्छ ।’ मन्त्रालयले सोलार लिफ्ट नभई विद्युतीय लिफ्टलाई प्राथमिकतामा राखेको उनले बताए ।

उपभोक्ता समिति सक्रिय हुने हो भने मात्रै लिफ्ट सिंचाई दिगो हुने बताउँदै मन्त्री आचार्यले आगामी वर्ष उक्त आयोजनाका लागि १० लाख बजेट रहेको बताए । ‘राज्यले लगानी गर्छ, त्यसको संरक्षण तपाइँहरुले गर्नुपर्छ’ स्थानीयलाई मन्त्री आचार्यले भने ।
मन्त्रालयका सचिव सन्तोष कैनीले नागरिकको आवश्यकता र सुविधाकालागि राज्यले लगानी गरेको बताउँदै संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।

कर्मसिङ फाँट लिफ्ट सिंचाई आयोजना एवं जल उपभोक्ता समितिका अध्यक्ष बलबहादुर पन्तको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले विकासका मुद्दामा सबै एकै ठाउँमा हुने हो भने गाउँको मुहार बदल्न सकिने बताइन् । कार्यक्रममा वडा अध्यक्ष मित्रा परियार, स्थानीय यानप्रसाद भट्ट, मेघनाथ कैनी, सुजन गर्तौला लगायतले मन्तब्य राखेका थिए ।
निर्माण भएको सिंचाई आयोजनालाई दिगो बनाउनमा अझै लगानी थप्नुपर्ने स्थानीयले मन्त्री आचार्य समक्ष माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्