
आत्महत्या न्यूनिकरण गर्न स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड
गोरखामा आत्महत्याको घटना धेरै हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा ६९ जनाले आत्महत्या गरेका थिए । यी मध्ये पुरुष ३३, महिला २७, बालिका आठ र बालक एक जना रहेका छन् ।
अघिल्लो वर्षको यो संख्या ७९ थियो । एक वर्षमा ६९ जनाले आत्महत्या गर्नु धेरै डरलाग्दो तथ्यांक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।
आत्महत्याको घटना गोरखा र पालुङटार नगरपालिकामा धेरै छ । गोरखा नगरपालिकामा गत आर्थिक वर्ष १८, पालुङ्टार नगरपालिकामा १३, भीमसेन थापा गाउँपालिकामा नौ, सिरानचोक गाउँपालिकाभित्र आठ, आरुघाट गाउँपालिकामा छ, सिरानचोकमा पाँच, गण्डकी, शहीदलखन र अजिरकोटमा तीन÷तीन धार्चेमा एक जनाले आत्महत्या गरेका छन् । चुमनुब्री गाउँपालिकामा भने बिगत तीनवर्ष यता एक जनाले पनि आत्महत्या गरेका छैनन् ।
आत्महत्या न्यूनिकरणमा स्थानीय तह सक्रिय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र गोरखाको संयुक्त आयोजनामा आईतबार गोरखा सदरमुकाममा आत्महत्या न्यूनिकरण सम्बन्धी चेतनामुकल कार्यक्रम सम्पन्न भएको छ । बिपी चौतारादेखि जिल्ला समन्वय समितिको हलसम्म प्रभातफेरी आयोजना गरिएको थियो । विभिन्न विद्यालयका विद्यार्थी, संघ संस्था, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
¥यालीपछि जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले आत्महत्या न्यूनिकरणमा सबैको सहकार्य हुनुपर्ने बताए । साथै उनले मानसिक स्वास्थ्यमा समस्या आएपछि आत्महत्या हुने गरेको र यसको प्रमुख कारण लागुऔषध पनि रहेकाले प्रयोगमा निरुत्साहित गर्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले आत्महत्या न्यूनिकरण गर्न प्रहरी एक्लैको प्रयासले मात्र नहुने भन्दै स्थानीय तह, संघ संस्था, नागरिक समाज सबैको साथ आवश्यक पर्ने बताए । साथै उनले सामुदायिक सेवा केन्द्रसँगको साझेदारीमा प्रहरीले विद्यालय, समुदाय स्तरमा चेतनामुलक कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा सहभागीहरुले स्थानीय कुन स्थानीय तहमा, कुन समुदायमा, कुन आर्थिक अवस्था भएका ब्यक्तिहरु आत्महत्यामा सहभागी भएको भन्दै उनीहरुको समस्या पहिचान गरेर सचेतनाका कार्यक्रममा गर्नुपर्नेमा जोड दिए । स्थानीय तहसँग सामुदायिक सेवा केन्द्र, स्थानीय प्रहरी चौकीको साझेदारीमा यस्ता अभियान गाउँगाउँमा चल्नुपर्नेमा उनीहरुको जोड दिए ।
कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राजेन्द्रकुमार जोशी, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, एकीकरण नेपालका कार्यक्रम संयोजक चन्द्र देवकोटा, लगायतले मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा आत्महत्याको अवस्था, समस्या, न्यूनिकरणका उपायका बारेमा प्रहरी निरीक्षक हिमनाथ घिमिरेले प्रस्तुती साथै कार्यक्रमको सहजिकरण गरेका थिए ।




