
मनास्लु हिमालको चुचुरोमा ‘रोप फिक्सिङ’ गरियो, हिमाल आरोहण सुरु (फोटो फिचर)
गोरखाको उत्तरी क्षेत्रमा रहेको मनास्लु हिमाल आरोणका लागि ‘रोप फिक्सिङ’को काम भएको छ । मुख्य चुचुरोसम्म कर्मसियल रुट तयार भएको छ । बिहीबार राती ८ बजेर २८ मिनेटमा मनास्लुको मुख्य शिखरमा डोरी फिक्स गरेसँगै यो रुट तयार भएको हो ।
हिमालको मुख्य चुचुरोसम्म रोप फिक्सिङको काम गर्न एक्स्पिडिशन अपरेटर्स नेपालले एलिट एक्स्पेड कम्पनीलाई तोकेको थियो । एलिट एक्स्पेड कम्पनीको नेतृत्वमा शरद ऋतुमा मनास्लु हिमालको मुख्य चुचुरोको कमर्सियल रुटको निर्माण भएको जनाइएको छ ।

रोप फिक्सिङ टिमको संयोजकमा मिङमा डेविड (ग्याबु) शेर्पा र फिक्सिङ टिम लिडरमा गोरखाका पुरबहादुर गुरुङ गरेका थिए । उक्त टिमको सदस्यमा दावा चेत्तर शेर्पा, मिङ्मार शेर्पा, सन्दीप गुरुङ, पाम दोर्जी शेर्पा, पासाङ निङमा शेर्पा र कर्मा ग्याल्जेन शेर्पा चुचुरोमा पुगेका थिए ।
गुरुङ समुदायको तर्फबाट मनास्लु हिमालमा पहिलो पटक पुरबहादुर गुरुङ रुट फिक्सिङ लिडरका रुपमा काम गरेका हुन भने उनीसँगै टिममा लाप्राकका सन्दिप गुरुङ पनि पहिलो पटक रोप फिक्सिङ कार्यमा समेत भएका हुन् । उनीहरु दुवै जना धार्चे गाउँपालिका ४ लाप्राकका हुन् ।


विश्वको आठौं, नेपालको सातौँ अग्लो मनास्लु (८,१६३ मिटर) हिमालको मुख्य चुचुरोको कमर्सियल रुटको निर्माण भएसँगै अब हिमाल आरोहण सुरु भएको छ । गत वर्षको शरद ऋतुमा ४५ वर्षपछि पहिलो पटक मनास्लुको मुख्य चुचुरोमा इम्याजिन नेपालका प्रबन्ध निर्देशक तथा एक्स्पिडशन् लिडर विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा ग्याल्जेन शेर्पा र उनको टिमले रुट बनाएको थियो । उनले उक्त रुटको नाम ‘द रोलवालिङ डाइभर्सन’ राखेका थिए ।

मिङ्मा ग्याल्जे शेर्पाले सामाजिक सञ्जालमार्फत गत वर्ष जस्तै यस वर्ष पनि मनास्लुको मुख्य शिखरमा आरोहण गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘मनास्लुको मुख्य चुचुरो अब छायाँमा छैन् ।
सन् १९७६ मा शरद ऋतुमा मनास्लुमा पहिलो पटक इरानी र जापानी संयुक्त आरोहण अभियान र त्यसपछि २०२१ मा इम्याजिन नेपालको टोलीले आरोहण गरेको थियो ।

शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु भएसँगै आठ वटा हिमाल आरोहणका लागि ६० देशका ४५४ जनाले अहिलेसम्म अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
उनीहरुले हिमलुङ हिमाल (७,१२६ मिटर), सारिबुङ (६,३४६ मिटर) र मनास्लु (८,१६३ मिटर), धौलागिरी (८,१६७ मिटर), गङ्चेम्पो (६,३७८ मिटर), कुम्भकर्ण (७,७१० मिटर), नुप्टसे (७,८५५ मिटर), सगरमाथा (८,८४८.८६ मिटर) हिमाल चढ्न अनुमति लिएका हुन् ।
मनास्लु हिमालमा मात्र ३९४ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ११० जना महिला र ३४४ जना पुरुष छन् । उनीहरुबाट सरकारले पाँच करोड ३२ लाख २७ हजार ५९२ रुपियाँ रोयल्टी पनि संकलन गरेको छ ।
तस्बिर : सन्दिप गुरुङ




