
गोरखामा ७ ठाउँमा मतदान स्थल थपिए, १७ वटा स्थल परिवर्तन
आसन्न निर्वाचनका लागि गोरखामा ७ वटा मतदानस्थल थप हुने र १७ वटा मतदानस्थल अन्यत्र सारिने भएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न तथा स्थानान्तरण गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेअनुसार स्थल थप र परिर्वतन हुने भएको हो ।
समितिको वैठकको निर्णय अनुसार निर्वाचन आयोगले ७ वटा मतदानस्थल थप गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सात स्थानमा मतदान स्थल थपिएसँगै आगामि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि दुईसय २२ वटा मतदानस्थल कायम भएको छ । गत स्थानीय तह निर्वाचनमा जिल्लामा दुईसय १५ मतदानस्थल रहेका थिए ।
थपिएका मतदानस्थलहरुमा चुमनुब्री ३ को फिलिम आधारभूत विद्यालय पाती, चमुनुब्री ३ कै सिदुङ आधारभूत विद्यालय सरस्युँ, धार्चे ३ को दुङ्ला आधारभूत विद्यालयमा नयाँ मतदान स्थल कायम भएको छ । त्यस्तै, धार्चे ७ को गोरखानाथ आधारभूत विद्यालय खानीगाउँ, शहिदलखन २ को बनौती आधारभूत विद्यालय डाँडागाउँ, सहिदलखन २को बक्रेश्वरी आधारभूत विद्यालय तिउरेभञ्ज्याङ र वारपाक सुलिकोट ३ को स्तुल आधारभूत विद्यालय स्तुलखोलामा नयाँ मतदान स्थल कायम भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका अनुसार गोरखामा १७ वटा मतदानस्थल नयाँ ठाउँमा सारिएका छन् । गोरखा नगरपालिका वडा नम्वर ७ को कार्यालयमा रहेको मतदानस्थललाई नयाँवजारको सिटिहलमा, गोरखा नगरपालिका १४ को महालक्ष्मी आधारभूत विद्यालय छाकुको मतदानस्थललाई कन्यादेवी आधारभूत विद्यालय गोप्लिङमा सारिएको छ ।
चुमनुब्री गाऊँपालिकाका वडा नम्वर २ को ल्हो आधारभूत विद्यालय मतदानस्थललाई सामुदायिक भवन ल्होमा, चुमनुब्री वडा नम्वर ४ को नामरुङ गुम्बा मतदानस्थललाई स्वास्थ्यचौकीमा, चुमनुब्री वडा नम्वर ४ को क्वाक गुम्बा मतदान केन्द्रलाई क्वाक आधारभूत विद्यालयमा, चुमनुब्री वडा नम्वर ६ को चुम्लिङ गुम्बा मतदानस्थललाई सिद्धगणेश आधारभूत विद्यालयमा, चुमनुब्री वडा नम्वर ७ को छुले गुम्बा मतदानस्थललाई छुलेनिले आधारभूत विद्यालयमा र चुमनुब्री वडा नम्वर ७ को राजिन गुम्बा मतदानस्थलाई बुद्ध आधारभूत विद्यालय लारमा सारिएको छ ।
धार्चे गाऊँपालिका वडा नम्वर २ को गाविस भवन केरौंजा मतदानस्थललाई वडा कार्यालय क्युटेनमा, धार्चे गाऊँपालिका वडा नम्बर ४ को मणिकामदेवी मावि मतदानस्थललाई पुरानोगाऊँ फ्याप्चेतमा र धार्चे वडा नम्वर ५ को जनसेवा आधारभूत विद्यालय यमगाऊँ मतदानस्थललाई अमरनाथ आधारभूत विद्यालय लप्सीबोटमा सारिएको छ । धार्चे ५ को गाविस भवन गुम्दा मतदानस्थललाई सूर्योदय माविमा, धार्चे ३ को पार्वती मावि मतदानस्थललाई आंशिक सारेर दुङ्ला आधारभूत विद्यालयमा साएिको छ ।
भिमसेन थापा गाऊँपालिका वडा नम्वर २ को गाविस भवन ताराखसे मतदानस्थललाई सिद्धकाली माविमा, गण्डकी गाऊँपालिका वडा नम्वर १ को विजया भवानी मावि मतदान स्थललाई वडा कार्यालय मकैसिङमा, आरुघाट गाऊँपालिका वडा नम्वर ७ को ज्ञानभूमी आधारभूत विद्यालय मुलमुले मतदानस्थल वडा कार्यालय कुँडुलेमा र आरुघाट नम्वर १० को सिद्धदेवी मावि डाँडागाऊँ मतदानस्थललाई वडा कार्यालय फूलपाती भञ्ज्याङमा सारिएको कार्यालयले जनाएको छ ।




