| मङ्लबार, कार्तिक २४, २०८३

मन्त्री आचार्यको गृहनगरमा सिँचाइका मात्रै नौ करोडको योजना, अन्यत्र पनि पहुँचका आधारमा बजेट

गण्डकी प्रदेशको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले गोरखाको पालुङ्टारमा चालु वर्ष ४८ वटा योजनामा करिब नौ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । मन्त्री हरिशरण आचार्यले आफ्नो गृहनगर पालुङटारमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमार्फत कार्यान्वयन गर्ने गरी उक्त बजेट बिनियोजन गरेका हुन् ।

प्रदेशले चालु आर्थिक बर्ष गोरखा जिल्लाभरका लागि एकसय ७० वटा योजनामा २३ करोड २७ लाख रुपैयाँ बिनियोजन गरेको छ । योमध्य पालुङटार नगरपालिका भित्रका ४८ वटा योजनामा आठ करोड ९४ लाख बजेट बिनियोजन गरेको हो । सिंचाई योजना, कुलो निर्माण, लिफ्ट सिंचाई, तटबन्ध, पहिरो नियन्त्रणमा उक्त बजेट छुट्याइएको छ ।

गोरखा नगरपालिकाको वडा नं. ८ देखि वडा नं. १४ सम्म र पालुङटार नगरपालिकाका सबै वडाहरु मन्त्री आचार्य निर्वाचित भएको प्रदेश क्षेत्रभित्र पर्छ । आफू निर्वाचित क्षेत्रमा अन्यत्रको तुलनामा कैयौँ गुना धेरै बजेट तथा कार्यक्रम पारेका छन् । गोरखाका अन्य पालिकामा पनि कार्यकर्ता केन्द्रित बजेट बिनियोजन गरेको आरोप मन्त्री आचार्यमाथि छ । उनले सिरानचोक गाउँपालिकामा २० वटा योजनामा दुई करोड ९८ लाख बजेट छुट्याएका छन् । गोरखा नगरपालिकाभित्र २२ वटा योजनालाई दुई करोड ५४ लाख रुपैँया विनियोजन गरिएको छ ।

गण्डकी गाउँपालिकामा २७ वटा योजनाका लागि दुई करोड २८ लाख रुपैयाँ बिनियोजन गरिएको छ । गण्डकी गाउँपालिकाको वडा नम्बर ८ मा मात्रै १४ वटा योजनामा एक करोड २८ लाख बजेट बिनियोजन गरिएको छ । उक्त वडा मन्त्रीका स्वकीय सचिव कुमार तिवारीको हो ।
अजिरकोट गाउँपालिका भरिमा १५ वटा योजनामा एक करोड ५१ लाख, आरुघाट गाउँपालिका भरिमा छ वटा योजनामा ९६ लाख, बारपाक सुलिकोट गाउँपालिकाभरि पाँच वटा योजनामा ५६ लाख, चुमनुब्री भरिमा दुई वटा योजनामा ५० लाख, धार्चे गाउँपालिकाभरि दुई वटा योजनामा ४० लाख, भिमसेन थापा भरिमा पाँच वटा योजनामा ३४ लाख, शहीदलखन गाउँपालिकामा छ वटा योजना ४४ लाख रुपैयाँ बजेट उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले बिनियोजन गरेको छ । एक सय ७० भित्रका केही योजना भने कार्यालयको मर्मत संहार, सर्वेक्षण लगायतमा रहेका छन् ।

संघको सशर्त अनुदानतर्फ गोरखा जिल्लाभर २० वटा योजनामा तीनकरोड ४० लाख बजेट बिनियोजना भएको छ । योमध्ये सातवटा योजना पालुङ्टार नगरपालिकामा मात्र पर्छ । ती योजनाका लागि एक करोड ५५ लाख बजेट बिनियोजन गरिएको छ ।
गण्डकी गाउँपालिकामा पाँच वटा योजनामा ९५ लाख, सिरानचोक गाउँपालिकाको दुई योजनामा २० लाख, भीमसेन थापामा तीन वटा योजनामा तीस लाख, गोनपा १३ मा मझौला सिंचाई आयोजनामा १५ लाख बजेट बिनियोजन गरिएको छ । अजिरकोटमा पाँच लाख, र बारपाक सुलिकोटमा २० लाखका योजना छुट्याइएको छ ।

मन्त्री आचार्यले पालुङटार क्षेत्रमा गत वर्षको बाढीले धेरै क्षति पु¥याएकाले बजेट धेरै देखिएको बताए । ‘आवश्यकताका आधारमा म आफैँ फिल्डमा गएर हरेक ठाउँमा हेरेर बजेट बिनियोजन गरेको छु’, उनले भने । पालुङटार क्षेत्रमा बाढीले बस्ती कटान गरेको, खेत बगाएको लगायत धेरै समस्या देखिएकाले गत वर्ष बिनियोजन गर्न सम्भव नभएर अहिले बजेट छुट्याइएको उनले बताए ।
अन्यत्र पालिकामा पनि आवश्यकताका आधारमा बजेट छुट्याइएको बताउँदै उनले भने ‘हामीले प्रदेशभरीका ११ डिभिजन कार्यालयहरु सँग ५०÷५० लाखको कार्यक्रम मागेका थियौँ, त्यहाँबाट प्राथमिकतामा परेका योजना पनि समावेश छन् ।’ हरेक योजना फिल्डमा आफैँले हेरेर बजेट बिनियोजन गरेको उनले बताए ।

गत वर्ष भन्दा यो वर्ष गोरखामा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालयमा योजना र बजेट धेरै छ । ‘गोरखालाई बाढी पहिरोले धेरै क्षति पु¥याएकाले बजेटमा प्राथमिकता दिइएको हो’, मन्त्री आचार्यले भने ।
थोरै बजेटका धेरै योजना हुँदा बिकासे अड्डालाई प्राविधिक जनशक्ति पु¥याउन, योजना संचालन गर्न र काम सिध्याउन सकस हुने गरेको गुनासो कर्मचारीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्