
गोरखामा असोज एक गतेबाट सहुलियत मूल्यको खाद्य पसल संचालन हुने
गोरखा सदरमुकाममा सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले यसवर्ष असोज १ गतेदेखि सहुलियत मूल्यको खाद्यान्न पसल सञ्चालन गर्ने जनाएको हो ।
कम्पनीले हरेक वर्षको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालन गर्दै आइरहेको छ । सोही अनुसार यही असोज एक गतेबाट सहुलियत मूल्यमा पसल संचालन हुने कार्यालयका सूचना अधिकारी शिव सुनारले बताए । शाखाबाट खाद्यान्न खरिद गर्दा प्रतिकिलो रु ७ सात रुपैँया छुट हुने उनले बताए । उनका अनुसार सोना मन्सुली चामल प्रतिकिलो ५२ बाट घटेर ४५ मा र स्टिम जिरा मसिनो चामल प्रतिकिलो ६७ बाट घटेर ६० रुपैयाँ पर्नेछ ।
सुपथ मूल्य पसलमा सोना मन्सुली चामल ३० केजीको बोरामा उपलब्ध रहेको छ भने स्टिम जिरा मसिनो चामल २५ किलोको बोरामा उपलब्ध रहेको कार्यालयका सूचना अधिकारी सुनारले जानकारी दिए । उनका अनुसार सोना मंसुली चामल प्रतिबोरा एकहजार तीनसय पचास र स्टिम जिरा मसिनो चामल प्रतिबोरा एक हजार पाँचसय रुपैयाँ पर्नेछ ।
शाखा कार्यालय गोरखामा सोना मंसुली चामल २६१ क्विन्टल र स्टिम जिरा मसिनो चामल एकसय क्विन्टल मौज्दात रहेको छ । कम्पनीले प्रतिव्यक्ति एक बोराको दरले खाद्यान्न उपलब्ध गराउने छ । दशँैँलाई मध्येनजर गरेर एक बोराको दरले मात्र खाद्यान्न बिक्री वितरण गर्न लागेको कम्पनीको निमित्त प्रमुख मुनिलाल कुशवाहाले बताए ।
सहुलियत मुल्यको पसल असोज १ गतेदेखि कार्तिक १५ गतेसम्म सञ्चालन हुनेछ ।




