| मङ्लबार, कार्तिक २४, २०८३

पहिले पुल बन्यो सडक बनेन, अहिले सडक बन्न लाग्दा अबरोध

पूर्वाधार कार्यालय गोरखाले सडकै नभएको ठाउँमा हत्तपत्त पाँच करोड खर्चेर पक्की पुल बनायो । सर्वत्र टीका टिप्पणी, आलोचना र अख्तियारले अनुसन्धान गर्न थालेपछि हतार–हतार सडक खन्न लाग्दा वन कार्यालयले अवरोध गरेको छ ।

गोरखा नगरपालिका ३ नारेश्वर र सिरानचोक गाउँपालिका ५ जरेवर जोड्ने गरी दरौँदी नदीमाथि निर्माण भएको पक्की पुल जोड्ने गरी अहिले सडक खनिँदै थियो । तर नारेश्वरतर्फको सडक खन्ने क्रममा सामुदायिक वनक्षेत्र नष्ट भएको भन्दै डिभिजन वन कार्यालय, गोरखकाली सवडिभिजन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिले काम रोकेका हुन् ।

‘हामीले त्यहाँ वन क्षेत्र खनिएको बारे सुचना पाएपछि काम रोक्न सामुदायिक वन उपभोक्ता समितिलाई पत्राचार गरेका छौँ’, गोरखकाली सवडिभिजन वन कार्यालयका प्रमुख विनोद गायकले भने, ‘हामीले त्यहाँ डोजर प्रयोग गरेर खनिएको छ ।’ सामुदायिक वन क्षेत्रमा रुख नभएपनि अनुमतिविना सडक खन्न नपाईने उनले बताए । ‘रुख छैन भन्दैमा सामुदायिक वन उपभोक्ता समिति, डिभिजन वन कार्यालयसँग अनुमति र आवश्यक प्रक्रिया पूरा नगरी सडक खन्न पाईँदैन’ उनले भने ।

अहिले नारेश्वरतर्फ बुट्यानहरु फाँडेर सडक खनिँदैछ । पाँच करोड ३९ लाख ८० हजार रुपैयाँमा ईलाईट एड्भेन्चर धनथान जेभीले पक्की पुल निर्माणको काम गरिरहेका छ । पुल निर्माण अन्तिम चरणमा छ ।
रातढुङ्गा गोलपोले सामुदायिक वन क्षेत्रमा पर्ने गोरखा नारेश्वरतर्फको भित्तामा डोजर प्रयोग गरेर सामुदायिक वन क्षेत्र खनिएको छ ।

पुलसम्म सडक जोड्ने भन्दै उक्त ठाउँमा सडक खनिएको हो । ‘त्यहाँ वनको जमिन खन्न लागेको सुचनापछि गोरखकाली सव डिभिजनलाई पत्राचार गर्न र स्थलगत बुझ्न भनेका छौँ’, डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले भने । वन उपभोक्ता समितिले कुनै अनुमति नदिएको उनले बताए । ‘त्यहाँको हानी नोक्सानी, अवस्था बारे सामुदायिक वन उपभोक्ता समितिसँग बुझ्छौँ । स्थलगत अध्ययन गर्छौँ’, उनले भने ‘अनुसन्धानपछि कारवाही प्रक्रिया अघि बढ्छ ।’

सडक नभएको ठाउँमा पुल वनेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा कार्यालयबाट कागजात लैजाने, स्थलगत अनुगमन, सोधपुछ र उक्त योजनासँग सम्वन्धित कर्मचारीको बयान लिएको छ । चौतर्फी चर्चा र आलोचनापछि अहिले हतार हतार सडक खन्ने क्रममा वनक्षेत्र परेपछि थप बिवादमा चुलिएको हो ।

सडक निर्माण गर्दा पूर्वाधार बिकास कार्यालय गोरखा र निर्माण ब्यवशायीले प्रक्रिया पूरा नगरेको डिभिजन वन कार्यालयले जनाएको छ । ‘वन क्षेत्रको जग्गामा सडक खन्नेबारे हामीलाई कुनै जानकारी छैन’, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले भने ।
निर्माण ब्यवशायी सुरेशबाबु पाण्डेले पुलको जिप संरक्षण गर्न र जाली भर्न खनिएको बहानाबाजी गरे । ‘२५ मिटर खनिएको हो, जंगल क्षेत्र फँडानी भएको छैन । वनक्षेत्रभित्र सडक नखन्न भनेपछि रोकेका छौँ ।’

पुल निर्माणको ठेक्का लगाएको पूर्वाधार कार्यालय गोरखाले पनि वन क्षेत्रमा सडक निर्माण नगरेको भन्दै ढाकछोप गरेको छ । पुलको गोरखातर्फ २५ मिटर माथि सडक भेट्ने र सिरानचोकतर्फ दुईसय मिटरमा पुल जोड्ने सडक रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले बताए । ‘सिरानचोकतर्फ जग्गाधनीसँग सहमति जुटाइएको छ । धान काटेपछि सडक वन्छ । अहिले ३० मिटर बनिसक्यो’, उनले भने, ‘नारेश्वरतर्फ २५ मिटर सडक खनेपछि माथिको सडकमा जोडिन्छ ।’ उनले सामुदायिक वन क्षेत्रबाट सडक खनेको नभई पुलको जिप संरक्षण गर्ने काम मात्रै गरेको बताए ।

रातढुङ्गा गोलपोले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर थापाले आफुसँग कसैले पनि वन क्षेत्रभित्र सडक खन्ने विषयमा अनुमति नलिएको र वन समितिले कसैलाई अनुमति पनि नदिएको दाबी गरे । ‘कसैले अनुमति मागेको पनि छैन, कसैलाई अनुमति दिएको पनि छैन’, थापाले भने, ‘वन डिभिजनले वनक्षेत्रमा अनुमति विना सडक नखन्न भनेको छ । मैले रोक्न भनेको छु ।’

प्रतिक्रिया दिनुहोस्