
ताप्लेस्थित जुँगेपानी सडकको दीगो समाधान गर
गोरखा, आरुघाट सडकको गोरखा नगरपालिका २ ताप्लेस्थित जुगेपानीमा सडक निर्माण गर्दैमा यहाँ दीगो समस्या देखा पर्ने पहिचान भएको थियो । त्यतिबेला जैविक विविधता(बायोडाइभर्सिटी) प्रविधिमार्फत समस्या समाधान हुनसक्ने प्रक्षेपण गरिएको थियो । कृष्णभीरको पहिरो नियन्त्रण गरेको बायोडाइभर्सिटी प्रविधि यहाँका लागि पनि फापसिद्ध हुने तर्क गरिएको थियो ।
तर यहाँ त्यसो भएन । बर्षेनी झरी पर्नासाथ यहाँ पहिरो बग्न थाल्छ । जति अस्थायी निराकरण गरे पनि स्थायी समाधानको बाटो अपनाउन सकिएको छैन । गतहप्ता निरन्तर झरी परेपछि यहाँ पहिरो खस्न थाल्यो । सडकको लेभल नै बगेर छिन्नभिन्न भएको थियो । त्यसका कारण एक सातादेखि सडक अवरुद्ध बन्यो ।
साउन ११ गतेदेखि कहिले अवरुद्ध हुने कहिले खुल्ने भएको थियो, धेरै सवारी साधन ओहोरदोहोर गर्न सकेनन् । शनिवार दिउँसोदेखि एकतर्फी रुपमा गाडी चल्ने गरी सडक बनेको छ । अहिले बनेको सडक पनि अस्थायी रुपमा काम चलाउन गरिएको हो । पानी परेपछि जुनसुकै बेला सडक अवरुद्ध हुन सक्नेछ ।
उक्त खण्डमा एकसय मिटर सडक भासिएको छ । जतिसुकै बेला सडक अवरुद्ध हुने सक्ने भएपछि आहालेभञ्ज्याङबाट कुवापानी गाईखुर हेल्थपोष्ट हुँदै बैकल्पिक सडकपनि तयारी अवस्थामा रहेको छ ।
पहिरोको दीर्घकालीन समाधान गर्न धेरै खर्च लाग्ने र त्यसका लागि नगरपालिका, सडक डिभिजन कार्यालयसँग समन्वय भईरहेको छ । आरुघाट(गोरखा सदरमुकाम जोड्ने मुख्य सडक भासिएर अवरुद्ध हुँदा यात्रुहरुहरु मसेल निवेल, छेपेटार हुँदै आउने गरेका थिए ।
बर्षेनी भासिएर यसले यो भन्दा माथिको बस्तीलाई समेत जोखिम बढाएको छ । त्यसैले यहाँको पहिरो दीर्घकालीन नियन्त्रणका लागि प्रदेश तथा केन्द्र सरकारसंग अनुरोध गर्नुपर्ने खाँचो छ ।




