| बुधबार, कार्तिक २५, २०८३

चुमनुब्रीको लोक्पामा पहिरो जाँदा बाटो बन्द, चुम्चेत र छेकम्पारका स्थानीयलाई सास्ती

चुमनुब्री गाउँपालिका ६ को लोक्पामा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । वर्षातसँगै पहिरो जाँदा एक सातादेखि पैदलमार्ग अवरुद्ध भएको वडा अध्यक्ष सरोज लामाले बताए । चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन ।

मानिस पैदल हिड्नुपर्छ भने खच्चडबाट खाद्यान्न, निर्माण सामग्री ढुवानी गरिन्छ ।
‘एक हप्तादेखि खच्चड आउन सकेको छैन, मान्छे हिड्ने बाटो पनि छैन’ उनले भने ‘पहिरोकै कारण म १० गतेदेखि वडा कार्यालय जान पनि सकेको छैन ।’ सेवाग्राही पनि वडा कार्यालय जान नसकेको उनले बताए ।


पहिरोका कारण वडा नम्बर ६ र ७ का स्थानीय गाउँपालिका कार्यालय, गोरखा सदरमुकाम तर्फ आउजाउ गर्न सकेका छैनन् । ‘केही, केही जोखिम मोलेर पहिरो चढ्दै गएका छन् तर धेरैजसो पहिरोको डरले आउजाउ गरेका छैनन्’ उनले भने । अहिले उत्तरी गोरखामा गहुँ काट्ने सिजन हो । एक अर्को ठाउँमा आउजाउ गर्न पनि स्थानीय सकेका छैनन् । पहिरो भएको ठाउँ घुमेर जाँदा दुई दिन थप समय लाग्ने उनले बताए ।


‘तत्काल बैकल्पिक बाटो खोल्ने अवस्था छैन, लगातार पहिरो खसिरहेकाले वर्षात रोकिएपछि खुलाउने योजना छ’ वडा अध्यक्ष लामाले भने ‘ढुङ्गा झरिरहेकाले काम गर्न समस्या छ ।’ बाटो खुलाउने विषयमा गाउँपालिका सँग समन्वय भईरहेको र वर्षात रोकिएपछि काम सुरु गर्ने उनले बताए । गत वर्ष पनि सोही ठाउँमा पहिरो जाँदा पैदलबाटो अवरुद्ध भएको थियो । सात, आठ सय मिटर बाटो पहिरो खसेर अवरुद्ध भएको उनले बताए ।


यसैबिच चुमनुब्री गाउँपालिका ७ को छुले खोला बढ्दा दुई गाउँ जोड्ने फड्के बगाएको छ । छुले गाउँको बिच भएर बग्ने छुले खोलामा आएको बाढीले फड्को भत्काउँदा आउजाउ बन्द भएको स्थानीय ङवाङ लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्