
हराभरा सामागाउँ अभियान, यसबर्ष १४ हजार विरुवा रोपियो
हाइ अल्टिच्यूडका कारण ठूला रुखहरु कम रहेको सामागाउँमा हरियाली बढाउने उद्देश्यले वृक्षारोपण अभियान सञ्चालन गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघसंस्थाहरुको सहयोगमा स्थानीयबासीले वृक्षारोपण अभियान सञ्चालन गरेका हुन् ।
यसबर्ष स्थानीय प्रजातिको सल्लाका १४ हजार विरुवा रोपिएको मिड फाउण्डेशनका सदस्यसमेत रहेका स्थानीय मिङ्मार लामाले जानकारी दिए । ठूला रुख विरुवा कम भएको सो क्षेत्रमा बिगत सात बर्षअघिदेखि वृक्षारोपण गरिँदै आएको लामाले बताए ।
‘पिक एड जापानको आर्थिक सहयोग तथा एमआरटीएफएन नेपाल र मीड फाउण्डेशनको संयुक्त पहलमा सामागाउँमै नर्सरी बनाएर विरुवा उत्पादन गरी बिगत सात, आठ बर्षअघिदेखि वृक्षारोपण गर्दै आएका छौँ’, उनले भने, ‘यसबर्ष प्रत्येक घरधुरीलाई एकसय २० वटाका दरले विरुवा वितरण गरेका छौँ ।
उहाँहरुले आफ्नै दर्ता भएको जग्गामा वृक्षारोपण गर्नुुहुन्छ ।’ यसअघि रोपिएको विरुवा हुर्किसकेकाले अब सामागाउँमा हरियाली बढिरहेको उनले बताए ।
सल्लाका रुख हुर्किसकेपछि अब घर तथा फर्निचर बनाउने काठ तथा घरायसी प्रयोजनका लागि दाउराको अभाव नहुने स्थानीयले विश्वास राखेका छन् ।
बुधबार वौद्ध धर्मावलम्बीहरुको धर्मगुरु चौधौँ दलाइ लामाको ८७ औँ जन्मोत्सवको अवसर पारेर वृक्षारोपणका लागि विरुवा वितरण गरिएको थियो । उनले भने, ‘विश्व शान्ति, पृथ्वीको सम्पूर्ण प्राणी जगतको शान्ति र वातावरण संरक्षण गर्न मद्दत पुगोस् भन्ने कामना गर्दै विरुवा वितरण गरिएको हो ।’
हाइअल्टिच्यूडमा हुने स्थानीय सल्लो जातको विरुवा वितरण गरिएको लामाले बताए । मनास्लु क्षेत्रको ३३०० देखि ३५०० मिटर उचाइको भूबनोट र शीतोष्ण हावापानीमा वातावरण सन्तुलन राख्न र हराभरा बढाउन स्थानीयबासीले वृक्षारोपण गरेका हुन् ।





