
गोरखा नगरपालिकाद्वारा विपत् सम्बन्धी प्रशिक्षण
गोरखा नगरपालिकाले विपत ब्यवस्थापन तथा न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिएको छ । वडा नम्बर ३, ५, ६ र ७ का वडास्तरीय विपद् ब्यवस्थापन समितिका सदस्यहरु र जनप्रतिनिधिलाई तालिम दिइएको हो ।
मंगलवार नगरपालिकाको आयोजना र रिपुमर्दन गण गोरखाको सहयोगमा भएको विपत् ब्यवस्थापन संम्बन्धी नमूना अभ्यास तथा अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले विपत्का बारेमा जानकारी गराए । विपत्को कारण, उत्पन्न हुन जोखिम र खतराहरु, मानिसले ध्यान दिनुपर्ने कुरा, पूर्व तयारी, सावधानीका बारेमा प्रमुख जिल्ला अधिकारी आचार्यले सहभागीहरुलाई जानकारी गराए । विपद्का समस्यामा स्थानीय, संघ, प्रदेश सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाज, सर्वसाधारण –नागरिकको भूमिकाका बारेमा पनि उनले जानकारी गराए ।
विकासका कार्यमा विपत् जोखिम न्यूनिकरण मूल प्रवाहिकरणका विषयमा उनले सहजिकरण गरेका हुन् । नेपालमा सम्भावित प्रकोप र त्यसबाट पर्ने खतरा, ध्यान दिनुपर्ने पक्षका बारेमा रोचक प्रस्तुती दिँदै प्रजिअ आचार्यले सहभागीको ध्यान केन्द्रित गराए । नेपाल भूकम्पको जोखिमले ११ औँ, जलवायु परिर्वतनको जोखिमले चारौँ, बाढी पहिरोको जोखिमले ३० औँ स्थानमा रहेको छ । बहुप्रकोपको दृष्टिकोणले पनि नेपाल उच्च जोखिममा रहेको उनले बताए ।
गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा मेयर रानाले मानवीय क्रियाकलापले विपत् जोखिम बढेको बताए । ‘विकासको नाममा हुने क्रियाकलापमा ध्यान दिनुपर्छ, मानवीय कारणले नै विपत्को खतरा मानवमाथि नै धेरै छ ।’
विपत् जोखिम न्यूनिकरण, राहत उद्धार र पुनस्र्थापनाको क्षेत्रमा सरोकारवाला सबैको सहयोगले काम गर्न सहज हुने उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख लीला परियार, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघका अध्यक्ष सीताराम श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका अध्यक्ष यदुविलास भट्टराई, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले मन्तब्य राखेका थिए ।
प्रशिक्षणका क्रममा रिपूमर्दन गणका मेजर प्रकाश परियार, गोरखा नरपालिका वातावरण शाखाका अधिकृत धु्रव घिमिरे लगायतले विपत् जोखिम, न्यूनिकरण, सावधानी, नमुना अभ्यास लगायतको बारेमा जानकारी गराएका थिए ।
कुनैबेला आउन सक्ने विपत्बारे पूर्व सावधानी अपनाउन, न्यूनिकरण गर्न र समुदायलाई सचेत गराउन मद्धत पुगोस् भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको वातावरण अधिकृत घिमिरेले बताए । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरु लगायतको पनि उपस्थिति थियो । प्रशिक्षण कार्यक्रम आज सकिनेछ ।




