
आइएनएफले गरेको कामको सामाजिक लेखा परीक्षण
विशेषगरी अपांगहरुको क्षेत्रमा काम गर्दै आएको इन्टरनेशनल नेपाल फेलोसिप(आइएनएफले २०७२ सालको भूकम्पयता गरेको कामहरुको बारेमा मंगलबार सामाजिक परिक्षण गरेको छ । सदरमुकाममा एक कार्यक्रम गरी आइएनएफले हालसम्म सम्पन्न भएका काम तथा खर्च भएका बजेटहरुको बारेमा समीक्षा गरेको हो ।
आइएनएफ सामुदायिक कास्की क्लस्टर मेनेजर विष्णु गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतित्थयता मा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा आइएनएफले खर्च गर्ने ११ करोड ७४ लाख २७ हजार सातसय १९ रुपियाँमध्य हालसम्म सात करोड ९९ लाख, तीनहजार ६६ रुपियाँ खर्च भएको जानकारी गराइएको थियो । त्यस्तै आइएनएफले एकसय पाँच जना अपाङ्ग भूकम्प पीडितको घर निर्माण गरेको जनाएको छ ।
प्रत्येक घर सरकारी अनुदान तीन लाख रुपियाँ तथा थप ५० हजार रुपियाँ बराबरको घर निर्माण गरिएको कार्यक्रममा जानकारी गराइएको संस्थाकी लक्ष्मी तामाङले जान कारी दिइन् । त्यस्तै आइएनएफले जिल्लाका एकसय ८० जना अपांगको उपचार गर्ने लक्ष्य लिएकोमा एकसय ९० जनाको उपचार गरिएको पनि कार्यक्रममा जानकारी गराएको थियो । त्यस्तै दुईसय ५८ जना बिभिन्न खालका अपांगहरुलाई उपकरण सहयोग गर्ने लक्ष्य रहेकोमा हालसम्म एकसय ६०लाई सहयोग गरिएको पनि जानकारी गराइएको थियो । विशेष शिक्षा केन्द्र तथा छात्रवास निर्माण तथा सुधार कार्यक्रम पाँचवटा विद्यालयमा काम गरेको । साथै आइएनएफले एक करोड ६४ लाख रुपियाँ खर्च गरी विभिन्न दुई विद्यालयको अपांग बस्ने छात्रवास पुनर्निर्माण गरेको र तीन विद्यालयमा अपांगहरुका लागि नयाँ छात्रबास निर्माण गरेको पनि जानकारी गराइएको थियो ।




