| बुधबार, कार्तिक २५, २०८३

बूढीगण्डकी प्रभावितको गुनासो : मुआब्जा रकम बैंकले रोक्यो

इकाई प्रमुख भन्छन् : झुटो आरोप लगाईयो

बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले डुबान क्षेत्रका बासिन्दाको माग र गुनासोलाई आयोजना कार्यालयले बेवास्ता गरेको बताएको छ ।

सरोकार समितिका संयोजक हरेराम ढकालले सोमवार एक बिज्ञप्ती जारी गर्दै आयोजनाले खातामा पठाएको मुआब्जा रकम सम्बन्धित बैंकले बिभिन्न बहानामा रोकेको बताएका छन् ।


मुआब्जा रकम बैंक खातामा दाखिला भएको १५ दिन भन्दा बढी हुँदा पनि बैैंकले प्रयोग गर्न नदिनुमा आयोजना कार्यालयका जिम्मेवार अधिकारी र बैंक कर्मचारीको मिलेमतोमा कमिसनको खेल भएको हुन सक्ने उनले बताए । ‘बैंकहरुको यो रबैया भयो’, उनले भने, ‘डुवानबासीले आफ्नो चाहना अनुसार रकम प्रयोग गर्न पाउनुपर्छ ।’


मुआब्जा पाएकाहरुले आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको के कति दररेट अनुसार कति मुआब्जा पाएको हो भनी सोधखोज गर्दा आयोजना कार्यालयले बिवरण नदिएको गुनासो स्थानीयले गरेका छन् । ‘के कति दररेटमा कति मुआब्जा आएको हो भनी जानकारी दिन अस्वीकार गर्नु आयोजनाको गैरजिम्मेवारीपन हो’, बिज्ञप्तिमा भनिएको छ । साथै सरोकार समितिले घरगोठ, बोटबिरुवाको मुआब्जा पाउन बाँकी भएकालाई तत्काल दिनुपर्ने माग गरेको छ ।


मुआब्जा दिने क्रममा आफ्नो घर, गोठ, संरचना र बोटविरुवा छुटपुट भएको अवस्थामा पनि डुवानबासीलाई चुप बस्न बाध्य पारिएको सरोकार समितिका संयोजक ढकालले बताए । घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा दिन छुटेको भए मुआब्जा पाउने सुनिश्चित गर्न पनि राष्ट्रिय सरोकार समितिले माग गरेको छ ।


बूढीगण्डकी जलविद्युत आयोजना मुआब्जा, वातावरण, पुनर्वास तथा पुनस्र्थापना इकाइका प्रमुख जगतकुमार श्रेष्ठले काम गर्दागर्दै झुटो आरोप लगाइएको बताए । ‘कसरी हुन्छ छिटो जनताले मुआब्जा पाउन् भनेर अहिले पनि त्यसैमा काम गरिरहेका छौँ’, उनले भने, ‘असार भित्र मुआब्जा पठाउने र साउन लागेपछि बिवरण हेर्न मिल्ने ब्यवस्था गर्दैछौँ ।’


बैंकमा भएको ढिलाइबारे गुनासो आएको र इकाईले सहज तरिकाबाट मुआब्जा रकम पाएकाहरुलाई पैसा दिन बैंकलाई सुझाव दिएको उनले बताए । ‘बैंकसंगको मिलेमतोमा कमिशनको खेलको आरोप लगाइएको छ, आरोप लगाएकाहरुले पुष्टि गर्नुप¥यो, झुटो आरोप लगाउनु भएन, काम गर्दागर्दै यस्तो आरोप लाग्नु दुःखद भयो ।’

इकाई कार्यालयले लामो समयदेखि रोकिएको मुआब्जा निर्धारण र बितरणको काम तीन महिना भित्र गरेको बताउँदै उनले निरन्तर काम भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्