| बुधबार, कार्तिक २५, २०८३

मतदान अधिकृत र भोट हाल्ने कर्मचारी हटाएपछि माईकोट केन्द्रमा मतदान सुचारु


मतदान अधिकृत हटाएपछि गोरखाको बारपाक सुलिकोट ६ माईकोट मावि केन्द्र ‘क’ र केन्द्र ‘ख’ मा मतदान पुन सुचारु भएको छ ।


‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी सन्जिब थापा अन्यत्र मतदान गर्न गएको विषयमा बिवाद हुँदा मतदान प्रक्रिया रोकिएको गाउँपालिकाका सहायक निर्वाचन अधिकृत तुलसीराम आचार्यले बताए । उनी आफ्नो केन्द्र छाडेर आज बिहान वडा नम्बर ५ को चन्द्रकला मावि आरुखर्क पुगेर मतदानमा सहभागी भएका थिए ।


केन्द्र छाडेर कर्मचारी आफ्नो जिम्मेवारी पुरा नगरी हिँडेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले बिरोध गरेपछि दिउँसो २ बजेबाट मतदान प्रक्रिया रोकिएको थियो । ‘कर्मचारीलाई स्पष्टिकरणका लागि निर्वाचन अधिकृतको कार्यालय बोईसकेका थियौँ’ सहायक निर्वाचन अधिकृत आचार्यले भने ‘मतदान अधिकृतलाई पनि कारवाही गर्नुपर्छ भन्नुभयो, त्यो भएर केही समय रोकियो ।’


मतदान अधिकृतलाई कारवाही नगर्दा सम्म मतदान प्रक्रिया सुचारु गर्न नदिने अडानपछि निर्वाचन अधिकृतको कार्यालयले दुबै केन्द्रका मतदान अधिकृतलाई बिरामी भएको बाहना बनाएर निश्कासन गरेको हो। केन्द्र ‘क’ का इश्वर कुमाल र ‘ख’ का रामशरण नेपाली दुबै जना बिरामी भएको मुचुल्का बनाएर निर्वाचन अधिकृतको कार्यालय गएपछि मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत आचार्यले बताए । सर्वदलिय बैठक बसेर सहमतीपछि मतदान सुचारु भएको उनले बताए । ‘अहिले म पनि यही केन्द्रमा छु, सहायक निर्वाचन अधिकृतले मतदान सुचारु गराउनुभएको छ’ उनले भने । केन्द्र ‘क’ मा मृता थापा र ‘ख’ मा रसु थापा सहायक मतदान अधिकृत छन् ।

प्रतिक्रिया दिनुहोस्