
गोरखाका स्थानीय तहको प्रमुखमा महिलाको दाबी दबाउँदै पुरुष हावी
महिलालाई ३३ प्रतिशत सिट सुनिश्चितताको भाषण गर्ने राजनीतिक दलले स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा महिला उम्मेद्वारलाई सिट दिएका छैनन् । आफ्नो पार्टीलाई समानुपातिक र समावेशीको हिमायती भन्ने गोरखाका राजनीतिक पार्टीले महिलालाई प्रमुख पद नदिएका हुन् ।
११ वटा पालिका रहेको गोरखामा सबैभन्दा ठूलो नेपाली कांग्रेसका ११ जना महिलाले प्रमुख पद दाबी गरेका थिए तर कुनैपनि पालिकामा महिलालाई प्रमुख पदमा उम्मेद्वार बनाएको छैन । बाध्यकारी भएकाले उपप्रमुखमा भने महिला उम्मेद्वार बनाएको छ ।
यसअघि गोरखा नगरपालिकामा दुईजना, पालुङटार नगरपालिकामा एकजना, सिरानचोक गाउँपालिकामा एकजना, अजीरकोटमा दुईजना, धार्चे गाउँपालिकामा दुईजना, भीमसेनथापामा एक र सहिदलखन गाउँपालिकामा दुईजना महिलाले अध्यक्ष पदका लागि दाबी गरेका थिए ।
त्यस्तै दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि ११ वटै पालिकामा पुरुषलाई प्रमुख पदमा उम्मेद्वार बनाएको छ । महिला आकांक्षीहरुको दाबी दबाएर सबै पालिकामा पुरुषलाई मात्र उम्मेद्वार बनाएको हो ।
नेकपा एमालेका दुई महिलाले दुईवटा पालिकामा प्रमुख पद दाबी गरेका थिए । तर गोरखा नगरपालिकामा मात्र प्रमुख पदमा महिला उम्मेद्वार बनाएको छ । यहाँ सम्झना देवकोटालाई मेयरको उम्मेद्वार बनाएको छ ।
जनता समाजवादी पार्टीले ११ पालिकामध्य गोरखा नगरपालिका, सहिदलखन र अजीरकोट, गाउँपालिकामा प्रमुख पदमा महिलालाई उम्मेद्वार बनाएको छ । गोरखा नगरपालिकामा सञ्जु भट्ट नेपाली र सहिदलखन गाउँपालिकामा कल्पना थापा र अजीरकोट गाउँपालिकामा मिरा धिताललाई प्रमुख पदको उम्मेद्वार बनाएको हो ।
नेकपा एकीकृत समाजवादीले पनि गोरखा नगरपालिकामा सानुमाया बस्नेतलाई प्रमुख पदको उम्मेद्वार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गण्डकी गाउँपालिकाको प्रमुखमा अम्बिका रुपाखेतीलाई प्रमुख पदको उम्मेद्वार बनाएको जनाएको छ ।
मंगोल नेशनल अर्गनाइजेशन९एमएनओ०ले बारपाकसुलीकोटमा आशा घले, धार्चे गाउँपालिकामा सिर्जना गुरुङ र सहिदलखन गाउँपालिकामा सुनु राना मगरलाई प्रमुख पदमा उम्मेद्वार बनाएको प्रचार विभाग प्रमुख नवीन घलेले जानकारी दिए ।
सम्बन्धित पालिकामा दाबी गर्ने महिला र पुरुषमध्य वरिष्ठताको आधारमा पुरुष परेकाले महिलालाई प्रमुख पदमा उम्मेद्वार बनाउन नसकिएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापा बताउँछन् ।




