| बुधबार, कार्तिक २५, २०८३

कांग्रेसका युवा कार्यकर्ताले आफ्नै मेयरका उम्मेद्वार कुटे


नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाका मेयरका उम्मेद्वार विश्वदेव श्रेष्ठलाई कांग्रेसकै युवा कार्यकर्ताले हातपात गरेका छन् ।

मनोनयन दर्ता गर्न फोटो खिचाउन बसपार्कस्थित एक फोटोस्टुडियोमा गएका उनलाई दिउसो एकबजेतिर युवा कार्यकर्ताले कुटपिट गरेका हुन् ।


कुटपिटबाट उनको टाउको र हातमा चोटपटक लागेको छ । ‘तरुण दलका सुदीप थापा मगर लगायतका १०, १२ जना केटाहरुले हेलमेट र सिसाले कुटपिट गरेका हुन्’, उनले भने, ‘बसिरहेको ठाउँमा एक्कासी आएर हाने । केही बोल्न पनि पाइएन । म त मरेँ भनेको थिएँ ।’

उनीहरुविरुद्ध ज्यान मुद्धामा उजुरी गर्छु ।’ आफूले टिकट नपाएको झोकमा आकांक्षीमध्य कसैले कुट्न पठाएको उनले आरोप लगाए ।


उनले टिकट पाएको खबर पाएपछि कांग्रेसका असन्तुष्ट युवा कार्यकर्ताले कांग्रेसको जिल्ला कार्यसमितिको कार्यालय र नगर समितको कार्यालयमा तालाबन्दी र धर्ना गरेका छन् ।

उनीहरुको अवरोधका कारण कांग्रेसले अहिलेसम्म मनोनयन दर्ता गराउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्