| बुधबार, कार्तिक २५, २०८३

गठबन्धन अकाट्य छ : इन्चार्ज धिताल

नेकपा माओवादी केन्द्रका इन्चार्ज कृष्ण धितालले सत्ता गठबन्धनका दलहरु बीच चुनावी तालमेल गर्ने विषय अकाट्य रहेको बताएका छन् । बिहिवार दरौँदीसँगको कुराकानीमा उनले केन्द्रको संयन्त्रले गठबन्धनका दलबाहेक अन्य दलसित चुनावी तालमेल नगर्न निर्देशन गरेसँगै एमाले लगायतका दलसँग हुन सक्ने तालमेलको संभावना समाप्त भएको बताए ।


‘गठबन्धनका लागि केन्द्रीय संयन्त्रबाट स्पष्ट आधारसहितको निर्देशन आएको छ । गठबन्धनभित्रै तालमेल गर्ने भन्ने छ’, इन्चार्ज धितालले भने, ‘कसलाई कति सिट भन्नेमा छलफल भएको छैन । अब घनिभूत रुपमा हामी यो विषयमा छलफल गर्दैछौँ ।’
एमालेसँग चुनावी तालमेल गर्न कार्यकर्ता तहबाट दबाब आइरहेको उनले बताए । ‘बिचार मिल्ने दलसित गठबन्धन गर्नुपर्छ भन्ने तर्क कार्यकर्ता तहबाट जोडदार रुपमा आइरहेको छ’, उनले भने, ‘हिँजोका दिनमा बाम गठबन्धन गर्दा एक खालको वातावरण बनिसकेको छ ।

त्यसले पनि सहज हुन्छ भन्ने पनि कार्यकर्ताको तर्क छ । युद्धको समयमा कांग्रेससँगको टकराब, गोरखामा माओवादी र कांग्रेस एक अर्काको प्रतिस्पर्धी भएकाले तालमेल तेस्रो शक्तिसित गर्नुपर्छ भन्ने मान्यतालगायत कारणले कार्यकर्ताको तहबाट एमालेसित गठबन्धन गर्न दबाव आएको छ ।’ तर सत्ता गठबन्धनबाहेकका दलसित तालमेल गर्ने सम्भावना समाप्त भइसकेको उनले बताए ।


कार्यकर्ता तहमा रहेको असन्तुष्टि मेटाउन गठबन्धन दलका नेताहरु संयुक्त टोली बनाएर घरदैलो गर्नुपर्ने उनको भनाइ छ । ‘कार्यकर्तालाई यो विषय बुझाउन केही समय लाग्न सक्छ’, इन्चार्ज धितालले भने ‘हामी गठबन्धनका दलहरु संयुक्त रुपमा टोली बनाएर प्रचार प्रसार गर्ने, अभियान चलाउने, भोट हाल्न सिकाउने गर्छौँ, र कार्यकर्तालाई बुझाउँछौँ ।’


गठबन्धनभित्रका जनता समाजवादी र नेकपा एकीकृत समाजवादीलाई पनि यथोचित सिटसहित सँगै लैजाने योजनामा रहेको उनले बताए । ‘यहाँ मात्र हेरेर भएन, केन्द्रको सत्तामा पनि गठबन्धनका दलहरु सबैको भूमिका महत्वपूर्ण छ, त्यसैले दलको स्तरअनुसार तालमेल गर्ने र सबैलाई सँगै लैजाने गरी छलफल गरेका छौँ ।’ अहिलेको गठबन्धनले भोलि बन्ने सरकारलाई पनि ध्यान दिनुपर्ने बताउँदै उनले स्थानीय तहको चुनावलाई मात्र हेर्न नहुने बताए ।


कार्यकर्ताले पनि गठबन्धनको विषयलाई बुझ्नुपर्ने र निर्देशन बिपरीत जानेलाई पार्टीले कारबाही गर्नुपर्ने अवस्था आउने नेकपा माओवादी केन्द्रका इन्चार्ज कृष्ण धितालले बताए ।


गठबन्धन हुने भएपछि पार्टीभित्र आकांक्षी भने धेरै देखिएको उनले बताए । ‘टिकट पाएपछि निश्चित जितिन्छ भन्ने छ । अहिले पार्टीभित्रै उम्मेद्वार धेरै हुँदा समस्या भएको छ ।’ माओवादी कांग्रेस लगायतका दलहरु बीच चुनावी तालमेल हुँदा गोरखामा जित्ने ग्यारेन्टी हुने र आकांक्षी पनि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्