
कोभिड र बाढी पहिरोले गिजोलिएको २०७८, नयाँ बर्ष चुनावी बर्ष
नयाँ बर्ष २०७९ को सुनौलो बिहानीसंगै कोभिड १९ महामारी र बाढी पहिरोले गिजोलेको बर्ष २०७८ को पटाक्षेप भएको छ ।
नयाँबर्षको मझेरीमा बसेर पुरानो बर्ष स्मरण गर्दा बैशाखदेखि नै सुखद भन्दा दुखद धेरै सम्झना आउँछ । अलिअलि मत्थर हुँदै गएको कोभिड नयाँ बर्ष २०७८ लागेसँगै चम्किँदै गएको थियो । फलस्वरुप बैशाखको पहिलोहप्तादेखि नै लकडाउनको प्रारुप सुरु भएको थियो । त्यसपछि भदौसम्म ठप्प लकडाउन भएको थियो ।
असारको १ गते बर्सेको अबिरल बर्षापछि झरेको पहिरोले ल्होमा बूढीगण्डकी थुनिएको थियो । त्यसपछि खुलेको गण्डकीले सिर्दिबासको सल्लेरी, जगत बगर बगाएको थियो । कैयौँ घरबास बिहिन भएका थिए । बाटोघाटो पहिरिएर झण्डै चार महिनासम्म आवतजावत ठप्पै भएको थियो । बाटो अवरुद्ध हुँदा उत्तरी गोरखामा खाद्यान्न हाहाकारको अबस्था आएको थियो ।
त्यसपछिको १६ र १७ गतेको बाढी र पहिरोले तल्लो क्षेत्रमा पनि अनगिन्ति क्षति भएका थिए । राउतेपानी पहिरो, लोक्पा पहिरो, श्रीनाथकोट पहिरो, सौरपानीको ढोडेनी पहिरोले कैयौँको जनधनको क्षति पु¥याएको थियो । दरौँदी खोला खारखोला, चुक्तीखोला, भुसुण्डेखोला लगायतका फाँटमा हजारौँ रोपनी खेत, कैयौँ घर बाढीले लगेको थियो ।
उत्तरी गोरखाको अबस्था नाजुक बन्दै गएपछि गृहमन्त्री बालकृष्ण खाँण, नेता सुरेन्द्र पाण्डे, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, मन्त्री हरिशरण आचार्यलगायतको उत्तरी गोरखाको अवलोकन गरेका थिए । केही राहत र केही आश्वासन बाँडेका थिए ।
बिगत तीनबर्षदेखि बन्द रहेको उत्तरी नाका चीन सरकारले नखोल्दा उत्तरी गोरखाका बासिन्दाको जनजीवन ज्यादै कष्टकरण भएको थियो ।
सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिकामा बिरामी, सुत्केरी तथा घाइते उद्धार गर्न झञ्झटिलो प्रक्रियाका कारण हेलिकोप्टर उँडाउन ढिला हुँदा ज्यान जाने घटना यो बर्ष पनि दोहोरियो ।
दुखदसँगै केही सुखद पक्ष पनि बर्ष २०७८ मा भए । बर्षौँदेखि दियालो बालेर जिविका चलाउँदै आएका लोक्पा, न्याक, प्रोक, सामागाउँमा लघुजलविद्युतबाट उत्पादित विद्युत बलेको थियो । १० बर्षदेखि अलपत्र रहेको सोतीखोला पुल सोही बर्ष निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो ।
त्यस्तै २०७८ साल मुख्य राजनीतिक पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जसपाको अधिवेशन बर्ष । सबै पार्टीको सबै तहको कमिटीले नयाँ नेतृत्व यही बर्ष पायो । गोरखा उद्योग वाणिज्य संघले पनि नयाँ नेतृत्व पायो ।
लामो समयदेखि अलपत्र रहेको न्याक, छेकम्पार र प्रोकमा बन्दै गरेको नेपाल टेलिकमको टावर बन्यो र उत्तरी गोरखाका सबै ठाउँ मोबाइल सेवासित जोडिए । धार्चे र चुमनुब्री जस्ता बिकट गाउँमा पनि वैँकबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य प्रारम्भ भयो ।
सबैभन्दा उत्तर माछाखोलासम्म बस चलाउने लामो समयदेखिको प्रयास यही बर्ष सफल भयो । ३७ करोड लागतमा निर्माण सम्पन्न भएको गोरखा अस्पतालको नयाँ भवनबाट सेवा प्रारम्भ भयो । यही बर्ष ढुंगागाढे, बुंकोटदेखि नाम्जुङसम्मको सडक कालोपत्रे भयो । चोरकाटेदेखि तार्केडाँडासम्मको सडक पनि कालोपत्रे भयो ।
धार्चे र चुमनुब्री गाउँपालिकालाई समेटेर अलग्गै जिल्ला बनाउने बुलन्द आवाज पनि यो बर्ष उठ्यो । भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट साउन १६ गते २६ लाख रुपैयाँ चोरी भयो तर बर्षभरि नै चोर फेला परेन । बिगत बर्षौँदेखि पालुंटारमा आएर अबरुद्ध भएको २२० केभिएको विद्युत प्रशारण लाइन निर्माणको कामले यस बर्ष पनि गति लिएन ।
कुखुरा जोख्ने तराजुमा रिमोट जडान गरीट तौल घटाउने र बढाउने गर्ने प्रविधि यही बर्ष खुलासा भयो । दोशीहरुलाई सामान्य कारबाही भयो । यही बर्ष गोरखा नगरपालिकाको स्वास्थ्य शाखा गण्डकी प्रदेशकै उत्कृष्ठ प्रदर्शन भएको थियो ।
चिनियाँ सरकारले बिगत १० बर्षदेखि अलपत्र बनाएको सिँजाली मावि ताक्लुङको भवन यसबर्ष पनि निर्माण कार्य सुरु भएन । बुटार पुल पनि सुरु भएन । त्यहाँ निर्माण गर्ने भनिएको बेलिब्रिजको काम पनि रोकियो ।
२०७८ मा नै स्थानीय तहको निर्वाचन घोषणा भयो । कांग्रेस, माओवादी, जसपा र नेकपा एस मिलेर चुनाव लड्ने निर्णयका साथ अघि बढे । यही बर्ष दरौँदी लिफ्टिङको पानी गोरखा बजारको घरघरमा झ¥यो । यही बर्ष कोभिडविरुद्धको दुवै चरण र बुस्टर डोजको खोप पनि लगाउने कार्य सम्पन्न भयो । कोभिड महामारी मत्थर हुदै गएको छ ।
बिगतका सबै नकारात्मक पक्षको पटाक्षेप भई अब बर्ष २०७९ सुखद बन्ने अपेक्षा छ ।




