| बुधबार, कार्तिक २५, २०८३

गोरखामा वडाअध्यक्षको आकांक्षी धानिसाध्यै छैन, निर्णय गर्न हम्मेहम्मे

आसन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षको उम्मेद्वार बन्न चाहनेको संख्या धानिसाध्यै छैन । एउटै वडामा एउटै पार्टीबाट १४ जनासम्म उम्मेद्वारको आकांक्षी रहेका यहाँका राजनीतिक दल बताउँछन् ।


एउटै वडामा १४ जनाको आवेदन आएको नेकपा एमाले गोरखाले जनाएको छ । ‘आरुघाट गाउँपालिका वडा नं. १० मा वडाअध्यक्ष बन्न पाउँ भन्ने १० जनाको आवेदन आयो’, नेकपा एमालेका गोरखा जिल्ला अध्यक्ष प्रेम गुरुङ भन्छन्, ‘कम्तिमा तीनजनादेखि आठजना, १० जनासम्मको आवेदन आएका छन् ।’ तर अन्तिममा पार्टीले गरेको फैसला मान्न तयार छौँ भन्नेहरु नै रहेको उनको भनाइ छ ।


आकांक्षीको दाबी धानिसाध्य नरहेको जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमाल बताउँछन् । ‘पालुङ्टार नगरपालिकाको वडा नं. ४ बाट १० जनाले उम्मेद्वार बन्न पाउँ भनेर निवेदन दिनुभएको छ’, उनी भन्छन्, ‘वडा नं. ५ पनि त्यस्तै छन् । ७५ प्रतिशत युवा उमेर समूहका साथीहरु उम्मेद्वार आकांक्षीको लाइनमा देखिनुहुन्छ ।’
नेकपा माओवादीभित्र पनि उम्मेद्वार बन्न चाहनेको लाइन लामै छ । सिरानचोक गाउँपालिका ७ मा वडाअध्यक्षका आकांक्षी सात जना रहेको नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापा बताउँछन् ।


नेपाली कांग्रेसको गोरखा नगरपालिका वडा नं. ३ मा वडाअध्यक्ष बन्न चाहनेको संख्या १२ जना रहेको कांग्रेसका जिल्ला कार्यसमिति सचिव किशोरजंग थापा बताउँछन् । ‘वडाअध्यक्षको उम्मेद्वार जहाँतहीँ धानिसाध्यै छैन । निर्णय गर्न हम्मेहम्मे छ’, उनी भन्छन् । विशेषगरी राजनीति गर्नेहरुलाई चुनाव प्रतिष्ठाको बिषय भएकाले चुनावप्रति यतिधेरै आकर्षण बढेको उनको भनाइ छ ।


‘राजनीति गर्नेहरुका लागि चुनाव महायज्ञ हो त्यसैले चुनावप्रति आकर्षण बढेको हो’, थापा भन्छन्, ‘जितेपनि, हारे पनि चुनाव लडेपछि नेतृत्वमा स्थापित भइन्छ भन्ने विश्वास छ । चुनाव जितेमा शान, मान, प्रतिष्ठा बढ्ने हुनाले पनि यति धेरै आकर्षण बढेको हो ।’ अहिले तालमेलको चर्चाले पनि आकांक्षीको संख्या बढेको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्