| बुधबार, कार्तिक २५, २०८३

म्यादी प्रहरीको तालिम गोरखा बजार, पालुङटार, जौवारी र आरुघाटमा हुने

गोरखाका म्यादी प्रहरीको तालिम नजिकको इलाका प्रहरी कार्यालयमा हुने भएको छ । म्यादीमा भर्ना भएकाहरुको सजिलोका लागि जिल्ला प्रहरी कार्यालयले नजिकको इलाका प्रहरी कार्यालयमा तालिम संचालन गर्न लागेको गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।


सोमवार मंगलवार जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीहरुलाई प्रमाण पत्र बितरण, बैंक खाता खोल्ने काम हुनेछ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, जौवारी, आरुघाट र जिल्ला प्रहरी कार्यालय गरी चार ठाउँमा तालिम हुने एसपी खनालले बताए ।


‘जसलाई जहाँ नजिक पर्छ हामीले दुरी हेरेर त्यहाँ नै तालिम दिनेछौँ’ उनले भने ‘कर्म खर्चमा तालिम लिन पाउन भन्ने उद्देश्यले इप्रकामा दिन लागिएको हो ।’ म्यादी प्रहरीले आफुले पाएको पारीश्रमिकबाट नै खान, बस्नको जोहो गर्नुपर्छ । सबैलाई सदरमुकाम बोलाएर तालिम दिँदा खर्च धेरै हुने भएकाले इलाका प्रहरी कार्यालयमा तालिम दिन लागिएको हो । जिल्ला प्रहरी कार्यालयमा तालिम दिन र ब्यवस्थापन गर्न पनि समस्या हुने हुँदा इप्रकामा तालिम दिँदा केही सजिलो हुने एसपी खनालले बताए ।


चैत ३० गतेबाट म्यादी प्रहरीको तालिम सुरु हुनेछ । निर्वाचनका लागि नेपाल सरकारले ४० दिनको सेवा सुविधा दिएर म्यादी प्रहरी भर्ना गरेको हो । गोरखामा १८ सय ६८ जना म्यादी प्रहरी खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्