
लार्के सडकलाई बजेट घट्यो
गोरखाबाट तिब्बत सीमाना जोड्ने गरी निर्माणकार्य थालिएको बेनिघाट आरुघाट लार्के सडकका लागि यस बर्ष सरकारले बजेबट घटाएको छ ।
चालु बर्ष १० करोड रुपियाँ रहेको बेनिघाट, आरुघाट लार्के सडक आयोजनाका लागि आउँदो बर्ष आठ करोड रुपियाँ मात्र बिनियोजन गरेको हो ।
चालु आर्थिकबर्ष १० करोड रुपियाँ बिनियोजन गरेकोमा यसबर्ष बजेट वृद्धि हुने अपेक्षा गरिएको थियो । झन बजेट घटेपछि गोरखाका सांसदहरु समेत आक्रोशित भएका छन् ।
क्षेत्र २ का सांसद तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, क्षेत्र नंं. १ का सांसद हरिराज अधिकारी र समानुपातिक सांसद चुडामणि खड्काले संसदमा बोल्दै बजेट घटेकोमा आपत्ति जनाएका थिए ।
चालु आर्थिक बर्षको बजेटले सो सडकको १६ किलोमिटर सडक निर्माण गरिएको छ । लापुको एकपाइले भीरदेखि नेपाली सेनाले सडक निर्माणको काम थालेको थियो । अहिले तातोपानीासम्म ट्रयाक निर्माण भएको नेपाली सेनाका सडक निर्माण कार्यदलका प्रमुख मेजर निशान्त क्षेत्रीले जानकारी दिए ।
सरकारले दुई देश जोड्ने सो सडकलाई राष्टिूय गौरबको योजनाको सूचीमा समेत नराखेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले आलोचना गरे । ‘कम्तीमा पनि ५० करोड बिनियोजन हुनुपथ्र्यो । तर जम्मा आठ करोड मात्र बिनियोजन हुनु दुखद कुरा हो’ भट्टराईले भने ‘यसले खासै प्रगति हुने देखिएन । दुई देश जोड्ने जस्तो महत्वपूर्ण सडकलाई राष्ट्रिय गौरबको योजनामा समेट्नु पर्नेमा समेटिएन ।’ सो सडक निर्माणप्रति सरकार उदासिन भएको देखिएको उनले बताए ।
बेनिघाटदेखि लार्केसम्मको १८० किलोमिटर लामो सो सडक अहिले करिब ८० किलोमिटरको टूयाक खन्ने काम सकिएको छ । यसबर्ष सेनाले निर्माण गरेको सो सडक प्रदेश सरकार माताहत निर्माणको काम गर्ने गृहकार्य समेत गरिएको थियो । सेनाले गरेका कारण निरन्तर निर्माणको काम भइरहेको सो काम सेनाबाट फिर्ता लिएर ठेकेदारले निर्माण गर्दा काम अलपत्र हुने आशंका गरिएको थियो । अन्तत सेनाको जिम्मामा नै दिइएको छ ।
छेकम्पार हुदै तिब्बत जोड्ने गोरखा, सिर्दिबास, छेकम्पार, नल्याङ्भञ्ज्याङ सडकको पनि बिगत आठबर्षदेखि जम्मा १८ किलोमिटर टूयाक मात्र निर्माण भएको छ । छ बर्षदेखि जम्म १८ किलोमिटर मात्र निर्माण हुँदा सो सडक निर्माण सम्पन्न हुनेमा आशंका गरिएको छ ।




