| आइतवार, कार्तिक २९, २०८३

nepal police

देशमा एकजना प्रहरीको भागमा ४ सय जनाको जिम्मेवारी

मूलुक एकात्मक प्रणालीबाट संघात्मक प्रणालीमा प्रवेश गरेपछि राज्यको प्रमुख सुरक्षा निकायलाई पनि संघीय स्वरुपमा लैजाने गृहकार्य सुरु भएको छ । झण्डै ७५ हजारको संख्यामा रहेको नेपाल प्रहरीको संघीय समायोजन सहज भने छैन । ७ वटा प्रदेशमा प्रहरीको समायोजन गर्नुपर्ने छ । अहिले संघीय र प्रदेश प्रहरी ऐन पनि निर्माण भएको छैन । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल प्रहरीलाई संघीय संरचनामा लैजान आवश्यक गृहकार्य भइरहेको बताउँछन् । उनले भने, “प्रहरीको संघीय रुपान्तरण र अपराधसंहिता कार्यान्वयन नै वर्तमान प्राथमिकता हो । यसका लागि तीव्ररुपमा काम भइरहेको छ ।”

नेपाल प्रहरीले बदलिँदो व्यवस्थामा २२ हजार प्रहरीको दरबन्दी थप्नुपर्ने प्रस्ताव गरे पनि सरकारले ३ हजार मात्रै दरबन्दी थप्ने अनुमति प्रदान गरेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा दरबन्दी थपघट हुनसक्ने बताउँछन् ।

तर आन्तरिक रुपमा प्रहरी मुख्यालयले ७५ हजार संख्याको प्रहरीले संघीय संरचनामा सोचेअनुरुपको सुरक्षा दिन नसक्ने बताउँदै आएको छ । सार्वजनिक रुपमा भने प्रहरी मुख्यालय यो कुरा स्वीकार गर्न चाहँदैन । तत्काल २२ हजार नभएपनि कम्तीमा ६ हजार दरबन्दी थप्नैपर्ने बाध्यता नेपाल प्रहरीले गृह मन्त्रालयसँग आग्रह गरेको थियो ।

प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, उच्चपदस्थ व्यक्तिको सुरक्षार्थ दैनिक काम कारबाहीमा थप प्रहरी आवश्यक रहेको सुझाव गृहलाई प्रहरीले दिएको थियो ।

यसअघि प्रहरी मुख्यालयले तयार पारेको सुरक्षामा प्रत्येक प्रदेशमा एसपीको कमान्डमा दुई सय ५० जना प्रहरीको गुल्म स्थापना गर्ने र आवश्यकताअनुसार गुल्मबाट विशिष्ट व्यक्तिको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने उल्लेख थियो ।

तर केन्द्र सरकारले कुनै निर्णय गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार हाल स्थानीय प्रहरीबाटै विशिष्ट व्यक्तिको सुरक्षा, मर्यादापालक, विशिष्ट व्यक्तिको निवास र कार्यालयको सुरक्षा लगायतमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसले गर्दा जिल्ला र स्थानीय तहको सुरक्षामा प्रहरीलाई सकस भएको प्रहरी स्रोत बताउँछ ।

प्रहरी मुख्यालयले विशिष्ट व्यक्तिको सुरक्षालाई व्यक्तिगत सुरक्षा, निवास स्थल, कार्यालय, भ्रमण र समारोहस्थलको सुरक्षामा वर्गीकरण गरेको छ । यसअघि नै तत्कालीन गृह मन्त्री जनार्दन शर्माकै कार्यकालमा प्रहरीमा २२ हजार नयाँ दरबन्दी थप्नुपर्ने प्रस्ताव प्रहरी मुख्यालयले गरेको थियो । थपिएको ३ हजार दरबन्दीलाई आधार नमान्ने हो भने कुल जनसंख्या करिब तीन करोड हुँदा एक जना प्रहरीले करिब चार सय जना सर्वसाधारणको सुरक्षा गर्नुपर्ने अवस्था रहेको प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्