
हामीले गरेका र कम्यूनिष्टले नगरेका विषय लिएर जनताकहाँ जानुस् : केन्द्रीय सदस्य पाण्डे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले कार्यकर्तालाई जनतासँग प्रत्यक्ष संवाद गर्न निर्देशन गरेका छन् । पालिकास्तरीय चुनावी अभियानको क्रममा बुधवार बारपाक सुलिकोट पुगेका उनले भने, ‘हामीले जनतासँग प्रत्यक्ष संवाद नगरेका कारण, हाम्रो कुरा बुझाउन नसकेका कारण कम्यूनिष्टले भ्रमको खेती गरिरहेका छन् ।’
कांग्रेसको योजना, कांग्रेसले गरेका कामका बारेमा जनतालाई बुझाउन सक्ने हो भने जनताले अन्य पार्टीमा सर्वसाधारण जनताले भोट नहाल्ने उनले दावी गरे । कम्यूनिष्टले एमिसिसिको बारेमा दोहोरो भुमिका खेलेको बताउँदै उनले कांग्रेसले जनतासँग कहिल्यै झुटो नबोल्ने र गर्न सक्ने कुरामा मात्र आश्वासन दिने बताए ।
नेपालको संविधान भन्दा माथि एमसीसी हुनै नसक्ने बताउँदै उनले जनतामा अनेकौँ खाले भ्रम छर्ने प्रयास गरेको उनले बताए । ‘हामीलेभन्दा धेरै शासन कम्यूनिष्टले पनि गरे तर उनीहरुले खै के गरे ?’ उनले भने ।
पालिकास्तरमा चुनावी अभियानलाई अघि बढाएको कांग्रेसले बुधवार बारपाक सुलिकोट गाउँपालिकामा कार्यक्रम गरेको हो । कांग्रेसको पालिकास्तरीय कार्यसमिति सभापति जीतबहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य पाण्डे, राष्ट्रिय सभा सदस्य कमला पन्त, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, क्षेत्रीय सभापति गोविन्द गुरुङ, प्रदेश सदस्य रविकला खनाल लगायतले मन्तब्य राखेका थिए ।




