| बुधबार, कार्तिक २५, २०८३

गोरखा कांग्रेसले आईतवारदेखि स्थानीय चुनाव लक्षित पालिका भेला गर्ने

नेपाली कांग्रेस गोरखाले फागुन २२ गते आईतवारदेखि पालिका स्तरीय भेला गर्ने भएको छ । शुक्रवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै कांग्रेस पार्टी सभापति नन्दप्रसाद न्यौपानेले २०७९ बैशाख ३० गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनलाई लक्षित संगठनीक कार्यक्रमअघि बढाइएको बताए ।


‘चुनाव लक्षित कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने गरी यो अभियान सुरु भएको हो’ सभापति न्यौपानेले भने ‘स्थानीय तहको निर्वाचन सम्म नेताहरु जनताको घरघरमा हुनुहुन्छ ।’ ११ वटै स्थानीय तहमा पालिका स्तरीय भेला घोषणा गरेको कांग्रेसले फागुन २२ गते अजिरकोट गाउँपालिकाबाट सुरु गर्नेछ ।
२३ गते सिरानचोक, २४ गते पालुङटार, २५ गते बारपाक सुलिकोट, २६ गते शहिदलखन गाउँपालिका, २७ गते गण्डकी गाउँपालिका, २८ गते भीमसेन थापा गाउँपालिका, २९ गते आरुघाट गाउँपालिका, ३० गते धार्चे गाउँपालिकामा भेला हुने नेपाली कांग्रेस गोरखाका प्रबक्ता भबगवानबाबु मास्केले बताए । चुमनुब्री गाउँपालिकामा चैत ३ गतेदेखि वडा भेला हुने उनले बताए । ‘भेलामा केन्द्रिय सदस्य, प्रदेशका पदाधिकारी र जिल्लाका पदाधिकारी सहित संम्बन्धित स्थानीय तहका नेता, कार्यकर्ता अनिवार्य सहभागि हुनुपर्छ’ उनले भने ।


भेला लगत्तै कांग्रेसले ९४ वटै वडामा प्रतिनिधी परिचालन गरि त्यहाँको पार्टीको अवस्था, निर्वाचन लक्षित योजना तयार गर्ने सभापति नन्दप्रसाद न्यौपानेले बताए । ‘भातृ संस्थाहरुलाई पनि हामी परिचालन गर्नेछौँ’ उनले भने । हरेक वडामा तीन देखि चार जनाको टिम परिचालन गर्ने तय भईरहेको उनले बताए ।


यस अघिको स्थानीय निर्वाचनमा गोरखाको नौ वटा पालिका प्रमुख जितेको कांग्रेस ९४ मध्ये ४५ वटा वडामा बिजयी बनेको थियो । बिजयी जनप्रतिनिधी सँग पाँच वर्षको अवधीमा गरेका कामको बिवरण मागेको कांग्रेसले साधन स्रोत अभावका बिच स्थानीय तहले राम्रो कामको थालनी गरेको निश्कर्ष निकालेको छ । ‘सिमित साधन स्रोत, ऐन, नियम, कानुनको अभावका बिच पनि स्थानीय तहले राम्रो काम गरेका छन्’ सभापति न्यौपानेले भने ‘उहाँहरुले भने अनुसार काम भए, नभएको बारे पार्टीले जनतासँग पनि बुझ्दैछ ।’


आसन्न स्थानीय तहको निर्वाचनमा जनतातिर फर्किएकालाई उमेद्ववार बनाउने योजना जिल्ला पार्टीको रहेको उनले बताए । ‘कसलाई उम्मेदवार बनाउँदा जनताको चाहना अनुसार, पार्टीको भवना अनुसार काम गर्छन उनीहरुले टिकट पाउँछन्’ उनले भने ‘हामीले बिभिन्न विधिबाट सर्वेक्षण गर्दैछौँ ।’ अहिले कसलाई टिकट दिने भन्ने बारे कुनै योजना नबनेको बताए ।

प्रतिक्रिया दिनुहोस्