| बुधबार, कार्तिक २५, २०८३

हर्मीमा महिला समूहको भवन र शिव मन्दिर उद्घाटन


सिरानचोक गाउँपालिका ३ मल्लटारमा नवनिर्मित आयआर्जन महिला समूहको कार्यालय भवन र महिला समूहले निर्माण गरेको शिव मन्दिरको मंगलबार उद्घाटन गरिएको छ । शिव मन्दिरको उद्घाटन गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले र महिला समूहको कार्यालय भवन सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङले उद्घाटन गरेका हुन् ।


देउसीभैलो खेलेर, रत्यौली नाचेर संकलन गरेको रकमले महिला समूहले कार्यालय भवन र शिव मन्दिर निर्माण गरेको स्थानीय बलबहादुर केशीले जानकारी दिए ।


मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले ७० हजार र सांसद दवाडीले व्यक्तिगत रुपमा २५ हजार रुपैयाँ गरी चारलाख ७० हजार रुपैयाँ लागतमा शिवमन्दिर निर्माण सम्पन्न भएको उनले बताए । त्यस्तै गाउँपालिका कार्यालयको तीनलाख ७० हजार र महिला समूहको आफ्नै कोषबाट कार्यालय भवन निर्माण सम्पन्न भएको केशीले बताए ।


महिला समूहकी अध्यक्ष मसिनी थापाको अध्यक्षतामा सम्पन्न संयुक्त उद्घाटन कार्यक्रममा सांसद दवाडी, गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष रीता देवकोटा, वडा अध्यक्ष वीरबहादुर थापा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुवास अधिकारी, कार्यपालिका सदस्य योगेन्द्र सुनार लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्