| मङ्लबार, कार्तिक २४, २०८३

माओवादी केन्द्र गोरखाको ८५ भन्दाबढि वडामा सर्वसम्मत नेतृत्व चयन

माओवादी केन्द्र गोरखाले शनिवार ८५ भन्दाबढि वडामा सम्मेलन सम्पन्न गरेको जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए । ‘चुमनुब्रीको केही वडा र तल्लो भेगको कुनैकुनै वडामा प्राविधिक कारणबस शनिवार सम्मेलन हुन सकेन’ उनले भने ‘करिब ८५ भन्दा बढि वडामा भएको छ ।’ गोरखामा ११ वटा पालिकाको ९४ वटा वडा छ । बाँकी वडामामा पनि तत्काल सम्मेलन हुने माओवादी केन्द्रले जनाएको छ ।


सम्मेलनका क्रममा वृहत छलफल गरेर सर्वसम्मत नेतृत्व चयन गरेको अध्यक्ष थापाले बताए । ‘ सम्मेलन भएको मध्ये कहिँकतै निर्वाचन भएन’ उनले भने ‘सहमती गरेर कमिटि चयन गरिएको छ ।’ अधिकासं वडामा शनिवार बिहानैदेखि नेता कार्यकर्ता सम्मेलनको तयारीमा जुटेका थिए । केन्द्रिय र जिल्ला स्तरका नेताहरु पनि वडा सम्मेलनका लागि गाउँगाउँ खटिएका थिए ।

केही ठाउँमा बाजागाजा सहित तामझामले सम्मेलन भएको थियो भने केही ठाउँमा समान्य किसिमले कार्यक्रम भएका थिए । वडा वडामा सम्मेलन गरेर कार्यकर्ता भेला गराई सम्मेलन गर्न सबै पाटी कमिटिलाई निर्देशन गरे अनुसार कार्यक्रम भएको जिल्ला अध्यक्ष थापाले बताए ।
शनिवार वडा सम्मेलन, मंसिर ११ गते नगर तथा पालिका सम्मेलन, २५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ गते सम्म माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको मिति तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्