| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा जनगणनाका लागि गणकहरु घरघरमा

‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नारा सहित गोरखामा विहिबारदेखि जनगणना सुरु भएको छ । दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा सुपरीवेक्षक र गणक कार्यक्षेत्रमै पुगी जनगणना सुरु गरेको जिल्ला जनगणना कार्यालय गोरखाले जनाएको छ ।


यसअघि सुपरीवेक्षकले घर तथा घरपरिवार सूचीकरण तयार गरिसकेको र सोहीअनुसार गणकले कात्तिक २५ गतेबाट जनगणना सुरु गरेको जनगणना कार्यालयका गोरखाका प्रमुख महेशप्रसाद ढुङ्गानाले बताए । गोरखामा ९८ जना सुपरीवेक्षकले गत भदौ ३० देखि असोज १८ गतेसम्म जिल्ला भरिका घर तथा घरपरिवारको सूचीकरण तयार पारेका थिए ।


त्यस्तै, गोरखामा जनगणनाका लागि बिहिबारदेखि चारसय चारजना गणक खटिएका छन् । एउटा परिवारको तथ्यांक लिन २० मिनेटसम्म लाग्ने गणकबिना अम्गाईँले बताइन् । ‘मलाई दुईसय घरको तथ्यांक लिनु पर्नेछ’, उनले भनिन्, ‘घरमुली भेटिएको बेला छिटो हुन्छ, नभए केही ढिलो हुन्छ ।’


गोरखा र पालुङटार नगरपालिकामा ८२ जना र ५९ जना, भीमसेनथापामा ३० जना, आरुघाटमा ३६ जना, धार्चेमा २४ जना, चुमनुब्रीमा १६ जना, अजिरकोटमा २२ जना गणक खटिएका छन् । बारपाक सुलिकोटमा ३४ जना, सिरानचोकमा ३१ जना, शहीद लखनमा ३७ जना र गण्डकी गाउँपालिकामा ३१ जना गणक खटिएको ढुङ्गानाले जानकारी दिए ।


एकजना गणकले बजार क्षेत्रमा दुईसयदेखि दुईसय ५० घरपरिबारसम्म गणना गर्नुपर्ने कार्यालयले जनाएको छ । ग्रामीण क्षेत्रमा एकसय ७५ देखि दुईसय २५ घर परिबार र हिमाली क्षेत्रमा एकसय २५ देखि एकसय ७५ घरपरिवारको तथ्यांक संकलन गर्नुपर्ने छ । एक घरमा पारिवारिक र व्यक्तिगत गरी कुल ५४ वटा प्रश्न सोधिने छ । एक घरमा करिब आधा घण्टा समय उनले बताए ।


हरेक घर परिवारमा पुगेर गणकले घरमूलीसँग परिवारका सदस्यको पारिवारिक तथा व्यक्तिगत वितरणहरु भर्नुपर्ने हुन्छ । अहिले सोहि ठाउँका स्थानीयहरुले नै जनगणना गर्ने भएकाले धेरै सहज हुने कार्यालयले विश्वास लिएको छ । जिल्लाभरि कात्तिक २५ गतेदेखि मंसीर नौ गतेसम्म सबै स्थानमा जनगणना भ्याइसक्नु पर्ने उनले बताए ।

जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिना आउनेछ । करिब ९ महिना अर्थात असारमा सबै नतिजा आउने कार्यालयले जनाएको छ ।


जनगणनाका लागि तथ्यांक संकलन गर्ने कार्य धमाधम चलिरहेको गोरखा नगरपालिका ६ मा खटिएकी सुपरीवेक्षक विमला कार्कीले बताइन् । ‘पहिला हामीले घरपरिवार सूचिकरण ग¥यौँ । सोही आधारमा उहाँहरुले घरपरिवारको फाराम भरिरहनु भएको छ । अहिले हामी पनि गणकहरुसँगसँगै सहयोग गरिरहेका छौ’, उनले भनिन् ।


गणकले भरेको फाइलको डाटाहरु रुजु गर्नुका साथै गणकको हरेक काममा निरन्तर फलोअप गरिरहेको उनले बताइन् । ‘म अन्तरगत पाँच जना गणकहरु हुनुहुन्छ । मेरो भागमा एक हजार ५८ वटा घरको तथ्यांक संकलन गर्ने जिम्मेवारी परेको छ । एक हजार ५८ घरलाई पाँच जना गणकलाई बाडफाँड गरेका छौँ ।

एक जनालाई करिब दुईसय २५ घर परेको छ,’ उनले भनिन् । सुपरीवेक्षकसँगै खटिएका मिलन पाण्डेका अनुसार एउटा घरपरिवार मा २० देखि ३० मिनेट सम्म लाग्ने गरेको बताए । आफ्नो २ सय ३० घरपरिवारको तथ्यांक संकलन गर्ने जिम्मा पाएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्