
गाडी नपाउँदा गोरखा बजारमा यात्रु अलपत्र, वर्षातका कारण सास्ती
लामो दुरीको गाडी नपाउँदा गोरखा बजारमा यात्रु अलपत्र परेका छन् । गोरखाबाट काठमाण्डौँ, चितवन हिडेका यात्रुले आज बिहानदेखि सहज रुपमा गाडी पाएका छैनन् । दिनभर गोरखाको हरमटारी चोक आसपास सयौँ यात्रु सवारी साधनको पर्खाईमा थिए ।
गोरखामा भएका सवारी साधनले यात्रुको चाप थेग्न नसक्दा सर्वसाधारणले कष्टकर यात्रा गर्न बाध्य छन् । केहीले निजी सवारी साधन रिर्जभ गरेर आउजाउ गरेका छन् भने कतिपय भाडाका सवारी साधन पनि रिर्जभ भए जाने नभए एक क्यू भन्दा नजाने गरेका छन् । माईक्रोबस, मिनिबसमा सर्वसाधारणको भिड छ ।
दशैँको चौँथो दिन आफन्तकहाँ टिका थाप्न जाने र अधिकासं आफ्नो काम, पढाई लगायतको शिलशिलामा गाउँबाट फर्कने गरेकाले दुईदिन देखि गोरखा बजारमा यात्रुको भिड छ ।
वर्षातका कारण यात्रुले सोमवार अन्य दिन भन्दा थप सास्ती खेप्नुपरेको छ । वर्षातले ग्रामिण सडक हिलाम्य छ भने गाडीको पर्खाईमा झरीमा रुझ्दै बस्नुपरेको गुनासो यात्रुको छ ।
जेष्ठ नागरिक र बालवालिकाहरु झनै समस्या परेका छन् ।




