| मङ्लबार, कार्तिक २४, २०८३

राष्ट्रिय बाणिज्य बैंक गोरखाले शनिवार नयाँ नोट दिने

राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाले शनिवार दशैँका लागि नयाँ नोट सटही गर्ने भएको छ । बैंकमा ढिला गरी नयाँ नोट आएको र अन्य दिन नियमित काममा भिडभाड हुने भएकाले शनिवार सर्वसाधारणलाई नयाँ नोट दिन लागिएको बैंकका गोरखा शाखा प्रबन्धक कपील कार्कीले बताए ।


‘नोट माग गरेको भन्दा थोरै आयो, हामीले आएको नोटहरु बितरण गर्छौँ तर अपुग हुने देखिन्छ’ उनले भने । असोज २३ गते दिउँसो १ बजेदेखि बाणिज्य बैंकको शाखा कार्यालय गोरखाबाट नयाँ नोट बितरण गरिनेछ ।

एक जनाका लागि कति सटही गर्ने भन्ने बारेमा भने ग्राहकको माग र उपलब्ध नोटका आधारमा निर्धारण हुने उनले बताए । साथै शनिवार बाहेक अन्य दिन नयाँ नोट सटही गर्न नसकिने बैंकले जनाएको छ ।

बैंकले शनिवार नै गोरखा नगरपालिका ३ नारेश्वरका नागरिकलाई सामाजिक सुरक्षा भत्ता बितरण गर्ने जनाएको छ ।
‘दशैँको कारण अन्य दिन बैंकमा भिडभाड हुने भएकाले नयाँ नोट र सामाजिक सुरक्षा भत्ताको रकम शनिवार पनि बितरण गर्न खोजेका हौँ’ कार्कीले भने । केहीदिन यता राष्ट्रिय बाणिज्य बैंकमा सेवाग्राहीको भिड छ । अन्य बैंकमा पनि अहिले भिडभाड बढेको छ ।

प्रतिक्रिया दिनुहोस्