
निर्माण ब्यवशायीको लापर्वाहीको पराकाष्ठा, चार वर्षअघि ठेक्का लिएको सडक अझै अपलत्र
गोरखा सदरमुकामको खोलखोलेदेखि गोरखा नगरपालिका जाने सडक कालोपत्रे गर्न चार वर्षअघि ठेक्का लिएको ठेकेदारको लापार्बाहीका कारण अझै काम अलपत्र छ । उक्त सडकमा अहिले सवारी साधन गुड्न, सर्वसाधारणलाई पैदल हिड्न मुस्किल छ । निर्माण ब्यवशायीको चरम लापर्वाहीले सडक बन्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
संघीय आयोजना कार्यान्वय इकाई पोखराले आर्थिक वर्ष २०७४/०७५ मा करिब दुई करोड ५० लाख रुपैयाँमा सो सडक कालोपत्रे गर्न ठेक्का लगाएको थियो । निर्माणको जिम्मा लिएको मिलिनियम कल्पवृक्ष जेभीले १४ सयमिटर सडक खण्डमध्ये चारसय मिटर मात्र आफ्नो जिम्मामा रहेको जनाएको छ ।
‘धेरै काम सकिएको छ, हामीले चारसय मिटर मात्र कालोपत्रे गर्ने हो, सबै होइन’ निर्माण कम्पनीका संचालक हरि पन्तले भने । आयुर्वेदचोकदेखि ढलान गर्ने काम भने सकिएको उनले बताए । कोरोनाको प्रभावका कारण सडक निर्माण समयमै हुन नसकेको बताउँदै निर्माण ब्यवशायी पन्तले मौसम खुलेको खण्डमा दशैँअघि कालोपत्रे हुने बताए ।
तर सोही कम्पनीले जिम्मा लिएको आयुर्वेद अगाडिको सडक, बसपार्कमा स्ल्याब राख्ने काम, सतिपिपलबाट गोरखा दरबार जाने सडक, स्वास्थ्य कार्यालयदेखि वल्ड क्यापिटल विद्यालयतर्फ जाने सडक पनि अलपत्र छ । एकै समयमा टेण्डर भएका यी आयोजनामध्ये एउटाको पनि कामले गति लिएको छैन ।
‘सडक नबनेर जनताले धेरै दुःख पाए, पैदल हिड्दा पनि जुत्ता बोकेर हिड्नुपरेको छ’, स्थानीय कृष्णबाबु थापाले भने, ‘बाटो नहुँदा केही समयअघि गाउँबाट शव उठाउन पनि सकिएन ।’
उक्त सडकमा खाल्डाखुल्डी रहेको, पानी जम्ने, सवारी साधन आउजाउ नभएको र निर्माण ब्यवशायीले नै बिच सडकमा निर्माणमा प्रयोग हुने सवारी साधन तेर्साएर राखेकाले सवारी चल्न थप सकस भएको स्थानीय बिनोद बस्नेतले बताए । ‘ब्यापारी ब्यवशायीले गोदामसम्म सामाग्री ल्याउन सकेका छैनौँ’ उनले भने ‘ ठेकेदारको लापर्वाहीले अहिले अन्यत्रै गोदाम खोजेर भाडा तिर्नुपरेको छ ।’
शनिवार नागरिक साझा सवालको अगुवाईमा स्थानीयबासीले सडक छिटो मर्मत गर्नुपर्ने माग सरोकारवालासँग राखे । साथै उनीहरुले गोरखा नगरपालिका, जिल्ला प्रशासन लगायतका कार्यालयले पनि सडक छिटो बनाउन दबाव दिनुपर्ने बताए । उक्त सडक खण्डमा पर्ने गोरखा नगरपालिका ८ का वडा अध्यक्ष कृष्ण केसीले स्थानीयले वर्षौँ देखि सडकका कारण दुःख भोग्नुपरेको बताए । ‘वडा अध्यक्षले केही गरेन भन्नुहुन्छ, मैले कयौँ पटक कार्यालय प्रमुख, र ठेकेदारलाई भनेको छु’ उनले भने ‘तर सुनेको नसुनै गर्छन ।’
उक्त सडक संघीय सडक आयोजना ईकाई पोखराले ठेक्का लगाएको हो । गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले संघीय सरकारले ठेक्का लगाएको सडक भएकाले नगरपालिकाले सोही सडकमा काम गर्न नसकेको बताइन् । ‘दोहोरो बजेट राख्न सकिँदैन, त्यस्तो ब्यवस्था पनि छैन’, उनले भनिन्, ‘तर ठेकेदार र ठेक्का लगाउने कार्यालयलाई पटक–पटक छिटो काम गर्न भनेका छौँ, अटेरी गरेका छन् ।’ यसअघि जिल्ला प्रशासन कार्यालयले पनि उक्त सडक छिटो निर्माण गर्न ठेकेदारलाई निर्देशन दिएको थियो ।
खोलखोलेदेखि नगरपालिका सम्म जाने १४ सय मिटर मध्ये बाँकी एक किलोमिटर भने बजेट अभावले अलपत्र छ । उक्त बाँकी खण्ड ठेक्का लगाउन बजेट नभएको संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ । ‘अहिले चलिरहेको काम सकियो भने बाँकी कामको ठेक्का नगरपालिकाले आफैँ लगाउन सक्छ’ नगरप्रमुख राजनराज पन्तले भने । काम अलपत्र हुँदा अहिले कति, कहाँ ठेक्का लगाउने भन्ने यकिन हुन नसकेको बताए ।
संघीय आयोजना कार्यान्वय इकाई पोखराका कार्यालय प्रमुख झपटबहादुर थापाले निर्माण ब्यवशायीले समयमै काम नगर्दा ढिलो भएको बताएका छन् । निर्माण ब्यवशायीलाई पटक पटक छिटो काम सक्ने अनुरोध गरिएको उनले बताए ।








