
राप्रपा गोरखाको अधिवेशन बदर गर्न असन्तुष्ट पक्षको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न जिल्ला अधिवेशन अवैधानिक ढंगले भएको असन्तुष्ट पक्षधरले आरोप लगाएका छन् ।
अध्यक्षका उमेद्वारहरु भगवानदास मल्ल, रामराज कोईराला, अम्बिका रुपाखेती र रामबाबु अर्यालले अधिवेशनको निर्वाचन कार्यक्रम अवैध भएको भन्दै त्यसलाई बदरको मागसमेत राखेका छन् ।
निर्वाचन समितिको कार्यालयमा पत्र बुझाउँदै उनीहरुले सहमति प्रक्रियालाई अवरुद्ध पार्ने, अधिवेशन स्थलमा मादक पदार्थ सेवन गरी अमर्यादित, अभद्र ब्यवहार प्रकट गरेको बताएका छन् ।
‘निर्वाचन प्रक्रिया अवरुद्ध भएको सुचना टाँस गरिसकेपछि आफैँले आफैँलाई अध्यक्ष घोषणा गरी पार्टीको प्रतिष्ठामा आँच पु¥याएकाले यस्तो निर्वाचन प्रक्रियामा हामी सहभागी नहुने निर्णय भएको छ’ चारै जनाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । असन्तुष्ट पक्षधरले यो निर्वाचन बदर गर्दै निर्वाचनको अर्को मिति तोक्न माग गरेका छन् ।
आरोप पत्रमा निर्वाचन कार्यक्रम स्थगित गर्ने निर्वाचन अधिकृतलाई नियन्त्रणमा लिई कागजपत्र खोसेको, कार्यक्रम स्थगितको सूचना टाँस गरेर मतदाताहरु घर गइसकेपछि स्वघोषित अध्यक्ष बनाएको आरोप लगाइएको छ । साथै उपस्थिति नै नभएका मतदाताको नाममा पनि भोट हालेको, पार्टीको मर्म र भावनामा आँच पुग्ने काम गरेको लगायतको आरोप सो आरोप पत्रमा छ ।
जिल्लाको क्षेत्र नं. १ को प्रदेशनिर्वाचन क्षेत्र १ का धेरै सक्रिय सदस्यलाई सहभागी नगराई अवैधानिक रुपमा गाउँपालिका अधिवेशनहरु गराइएकाले त्यहाँको पनि अधिवेशन रद्ध गरी पुन संचालन गर्न निवेदनमा माग गरिएको छ । स्वतन्त्र पर्यवेक्षक खटाई अधिवेशन गर्न समेत अनुरोध गर्दछौँ ।
केन्द्रीय सदस्य राजेन्द्र बिक्रम शाह, केन्द्रीय कार्यसम्पादन सदस्य तथा गण्डकी प्रदेश उपप्रमुख महेश्वर रोका लगायतले पनि निर्वाचन स्थगित गर्न आग्रह गरिएको पत्रमा हस्ताक्षर गरेका छन् ।
भदौ २८ गते देखि सुरु भएको राप्रपा गोरखाको अधिवेशनले २९ गते पाँच जना उमेद्वार मध्येबाट सुदीप ढकाललाई अध्यक्षमा निर्वाचित गरेको अर्को पक्षको दावी छ ।




