| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको नेकपा(एस)मा जम्मा तीन जनप्रतिनिधिको सनाखत

नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा(एकीकृत समाजवादी)मा गोरखाबाट जम्मा तीनजना जनप्रतिनिधिले मात्र सनाखत गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट विजयी ६२ जनामध्य जम्मा तीनजना मात्र नेकपा (एस)मा सनाखत गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


सनाखत गर्न दिइएको अन्तिम समय सीमा मंगलबारसम्म जिल्ला निर्वाचन कार्यालयमा गएर दुईजना वडाअध्यक्ष र एकजना वडा सदस्यले नवगठित नेकपा (एस)मा सनाखत गरेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए ।


नेकपा (एस)मा सनाखत गर्नेहरुमा आरुघाट गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष शिरबल बरामु र सोही गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष नारायणध्वज खड्का हुन् । त्यस्तै गोरखा नगरपालिका वडा नं. ८ का वडासदस्य कल्पना नेपालीले पनि नेकपा (एस) मा सनाखत गरेकी छन् ।


गत स्थानीय तहको निर्वाचनमा १४ जना वडाअध्यक्ष र ४८ जना वडा सदस्य निर्वाचित भएका थिए ।
आरुघाट ५ का वडाअध्यक्ष खड्का नेकपा(एस)का जिल्ला उपसचिव हुन् भने वडा नं. ३ का वडाअध्यक्ष बरामु आरुघाट गाउँपालिका पार्टी कमिटीका सचिव हुन् ।

गोरखा नगरपालिका ८ की वडा सदस्य नेपाली मुक्ति समाजका केन्द्रीय सदस्य र जिल्ला कमिटी सदस्य रहेका सो पार्टीका जिल्ला अध्यक्ष यादव बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्