
भक्तजनका लागि भदौ २३ गतेबाट मनकामना र गोरखकाली खुल्ने
गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेबाट खुल्ने भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय, शहीदलखन गाउँपालिका, मनकामना क्षेत्र बिकास समितिबिच भएको छलफलले मनकामना मन्दिर बुधवारदेखि खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
मनकामना मन्दिर खोल्ने निर्णय सँगै गोरखकाली मन्दिर पनि सोही दिन बाट खुल्नेछ । गोरखाका सबै मठ मन्दिरमा यस अघि नियमित आन्तरिक बाहेकका पुजापाठ रोकिएको थियो ।
बुधवारबाट भने जिल्लाभरका मठ मन्दिर खुल्ला हुने निर्णयले गोरखालीमा पनि भक्तजनले दर्शन गर्न पाउने भएका छन् ।
मनकामना मन्दिरमा भक्तजनका लागि बाहिरबाट पुजाआज र दर्शन गर्ने ब्यवस्था मिलाउने निर्णय भएको छ ।
मन्दिर परिसरमा हात धुने ब्यवस्था मिलाउने, पुजारी, कर्मचारीले पन्जा, मास्क, फेससिल्ड अनिवार्य लगाउने, भक्तजनले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न लगाउने निर्णय बैठकले गरेको छ । अनावश्यक भिडभाड नगरी, सामाजिक दुरी कायम गरेर पुजा गर्न भक्तजनलाई पनि अनुरोध गरिएको छ ।




