| मङ्लबार, कार्तिक २४, २०८३

२१ रोपनी जमिनमा कृषि ज्ञान केन्द्रले मौरी स्रोत केन्द्र बनाउँदै

खेर गएको २१ रोपनी जमिनमा कृषि ज्ञान केन्द्रले मौरी स्रोत केन्द्र निर्माण गर्ने भएको छ ।

कृषि ज्ञानकेन्द्रको नाममा गोरखा नगरपालिका ७ मान्द्रेढुङ्गामा रहेको उक्त जग्गामा यस वर्ष स्रोत केन्द्र बनाउन ५० लाख रुपैयाँ बजेट प्राप्त भएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताए ।


‘ज्ञान केन्द्रको २१ रोपनी जग्गा प्रयोगबिहिन थियो, उपयोग गर्न सकिएको थिएन’, ज्ञान केन्द्रका प्रमुख अधिकारीले भने, ‘स्रोतकेन्द्र स्थापना गर्ने योजना बनाएका पठाएका थियौँ, बजेट आएको छ ।’ मौरी स्रोत केन्द्रको रुपमा उपयोग गर्ने गरी उक्तजमिनको उपयोग गरिने उनले बताए ।


प्रयोगबिहिन भएको जमिन ज्ञान केन्द्रले उपयोगमा ल्याउन गत वर्षदेखि तयारी थालेको जनाएको छ । ‘मौरीको घार राख्ने, गोला वृद्धिगरेर किसानलाई अनुदानमा बितरण गर्ने योजना छ’ अधिकारीले भने । मौरी बाहेक टनेल निर्माण, स्क्रिन हाउस, नर्सरी पनि संचालन गरिनेछ ।


ज्ञान केन्द्रको अहिले सम्म स्रोत केन्द्र थिएन । पहिलो पटक गोरखामा स्रोत केन्द्र स्थापना गर्न गण्डकी प्रदेश सरकारले बजेट बिनियोजन गरेको हो । नर्शरीको रुपमा पनि उक्त स्रोत केन्द्रलाई बिकास गर्न सकिने ज्ञान केन्द्रका प्रमुख अधिकारीले बताए ।


यस वर्ष ज्ञान केन्द्रमा ग्रामिण पोषण सुरक्षा कार्यक्रमका लागि २० लाख, जिबिकोपार्जन सहयोग कार्यक्रममा १५ लाख बजेट रहेको छ । यी दुबै कार्यक्रम यस वर्षको लागि नयाँ हो । ‘कसरी संचालन गर्ने भन्ने कार्यविधि आएको छैन’ ज्ञान केन्द्रका प्रमुख अधिकारीले भने ।
ज्ञान केन्द्रका लागि चालु वर्ष छ करोड ४५ लाख बजेट बिनियोजन भएको छ ।

संघिय कार्यक्रम भने अझै आउन बाँकी रहेको केन्द्र प्रमुख अधिकारीले बताए । दुई करोड ७५ लाख रुपैयाँ बजेट भने अनुदानकालागि आएको छ ।


सबैभन्दा धेरै यस वर्ष ८७ लाख चक्लाबन्दीको उत्पादन प्रदर्शनीमा बजेट बिनियोजन भएको छ । चक्लाबन्दीमा भएको उत्पादन प्रदर्शनी, किसानलाई उपकरण, तालिम, बिउ उपलब्ध गराउने गरी उक्त बजेट खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्