| आइतवार, कार्तिक २९, २०८३

प्रदेश नं ४ः

चार नम्बर प्रदेशको नाम फेरीयो !

प्रदेश ४ को नाम गण्डकी राख्न सिफारिस गर्दै प्रदेश सभाद्वारा गठित समितिले सभामा सोमबार प्रतिवेदन पेस गरेको छ ।

सुझाव संकलनका क्रममा ७२ प्रतिशत मत गण्डकीको पक्षमा देखिएको उल्लेख गर्दै समितिका ज्येष्ठ सदस्य सांसद बिन्दुकुमार थापाले उक्त सिफारिससहितको प्रतिवेदन सभालाई बुझाएका हुन् ।

उनले प्रदेशको नामबारे सुझाव लिन जिल्लाहरुमा अन्तर्क्रिया गरेको, दलहरुसँग लिखित धारणा मागेको, विज्ञहरुको सल्लाह मागेको, ज्ञापनपत्रहरु बुझेको लगायत उल्लेख गरे ।

सांसद थापाले साविक एमाले, कांग्रेस, जनमोर्चाले दिएको सुझावमा गण्डकीलाई प्राथमिकता क्रमको १ नम्बरमा राखिएको जानकारी दिए । साविक माओवादी केन्द्रले लिखित सुझाव नराख्दै उसको एमालेसँग पार्टी एकीकरण भइसकेको थियो । त्यस्तै ११ जिल्लामध्ये ८ वटाबाट पनि पहिलो नम्बरमा गण्डकीकै पक्षमा सुझाव आएको उनले उल्लेख गरे ।

अन्तर्क्रियाहरुका सहभागीहरुले दिएको मतका आधारमा गण्डकीपछिको क्रममा तमुवान मगराँत नामकरणको पक्षमा मत देखिएको छ । सांसद थापाका अनुसार समग्रमा उक्त नामका लागि २८ प्रतिशत सहभागीको सुझाव थियो ।

गोरखा, धौलागिरि, हिमाल, अन्नपूर्ण र माछापुच्छ्रे जस्ता नाम पनि सुझावका क्रममा आएका तर तिनीहरुको पक्षमा निकै झिनो प्रतिशत संख्या रहेको सांसद थापाले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्