
गोनपा ५ मा सार्वजनिक सुनुवाई सम्पन्न
गोरखा नगरपालिका वडा नं ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा वडाभित्र सञ्चालित कार्यक्रम तथा योजनाको समीक्षा तथा ०७८/०७९ मा सञ्चालन हुने कार्यक्रम तथा बजेटको जानकारी दिने उदेश्यले सार्वजनिक सुनुवाई गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा नं ५ का वडाध्यक्ष रामकुमार थापा मगरको अध्यक्षता र मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोच नेपालको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा वडाले आर्थिक वर्ष ०७७/०७८ मा गरेको आम्दानी तथा प्रवाह गरेको सेवाका बारेमा जानकारी गराएको थियो ।
साथै कार्यक्रममा वडाभित्र सञ्चालित गत बर्षका वडागत र नगरस्तरीय योजना तथा खर्च भएको बजेटका र विवरण सार्वजनिक गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य गीता थापा मगरले सो विवरण तथा चालु आर्थिक बर्ष सञ्चालन हुने बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन ।
कार्यक्रममा योजना तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न र योजना समयमै सम्पन्न गर्नका लागि समयमै प्राविधिक खटाउनुपर्ने र निरन्तर अनुगमन गर्नुपर्ने, प्राथमिकताका आधारमा योजनाको छनोट गर्न स्थानीयले माग गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले सिमित स्रोत साधनका कारण एकै बर्ष सोचे जति बजेट विनियोजन हुन नसकेको बताएका छन् । आवश्यकता धेरै रहेको र स्रोत कम भएकाले चाहदा चाहदै पनि बजेट कटौती गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
त्यस्तै कार्यक्रममा वडाध्यक्ष थापाले काम गर्ने क्रममा कमजोरी समेत हुन सक्ने र सुधारका लागि सकरात्मक सुझावको आफुले सदैव अपेक्षा गर्ने गरेको बताए । कार्यक्रममा १७ वटा टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दल, स्थानीय बुद्धिजिवी, रेडियो श्रोता समुहका प्रतिनिधि लगायत स्थानीयको सहभागिता रहेको थियो ।




