
आधारभुत स्वास्थ्य सुरक्षा पालना नगर्ने सवारी कारवाहीमा
दराैँदी समाचारदाताः कोभिड १९ अर्थात कोरोना भाईरसको जोखिम बढिरहेका बेला आधारभुत सुरक्षाको मापदण्ड पुरा नगर्ने यात्रुबाहक सवारी साधन कारवाहीमा पर्न थालेका छन् । खचाखच यात्रु राख्ने, दोब्बर भाडा लिने, सुरक्षाका उपाएमा चासो नदिने गरेको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँचमा कडाई गरेको हो ।
बिहिवार मात्रै ११ वटा सवारी साधन कारवाहीमा परेका छन् । ति सवारी साधनले कोरोना भाईरसको जोखिम न्यूनिकरण गर्न सुरक्षाका समान्य नियम पनि पलना नगरेको, नगराएकोमा कारवाही गरिएको ट्राफिक प्रमुख मित्रलाल ढकालले बताए । राजमार्गमा भन्दा ग्रामिण भेगको आरुघाट सडक खण्ड र घ्याम्पेशाल सडक खण्डमा धेरै समस्या देखिएको उनले बताए ।
सवारी चालक, सह चालकले सेनिटाईजर, मास्क, पन्जा, यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने निणर्य भएपनि ब्यवाहारमा कार्यन्वयन भएको छैन । नियमित लिँदै आएको भन्दा ५० प्रतिशत थप भाडा लिएर एक सिटमा एक जना मात्रै यात्रु चढाउने जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले निणर्य गरेपनि खचाखच यात्रु राखेर धेरै भाडा लिइएको गुनासो सर्वसाधारणको छ ।
‘यसले कोरोनाको जोखिम पनि बढाएको छ’ ट्राफिक प्रमुख ढकालले भने ‘हामीले सम्झाउने बुझाउने गरेका छौँ, केहीलाई कारवाही पनि सुरु गरेका छौँ ।’ अहिले बोलेरो जिप, ट्याक्सी, बसले खचाखच यात्रु बोकेका छन् । कतिपयले दोब्बर भाडा लिएर जोखिममा यात्रा गराएको भन्दै सामाजिक सञ्जालमा भिडियो समेत पोष्ट गरेका छन् । जिल्लाका यातायात ब्यवशायी, प्रशासन र सुरक्षा निकायबिच बिहिवार कसरी सुरक्षित यात्रा गराउने भन्ने विषयमा छलफल समेत भएको थियो ।




