
तीनखण्डेको पहिरो पिडितलाई सहारा फाउण्डेशनको सहयोग
आषिश कुमार भट्टः बारपाक सुलिकोट गाउँपालिका वडा नं ८ तीनखण्डेको पहिरोमा परी घर र बारीबिहिन भएका तीन परिवारलाई ‘हाम्रो साहारा फाउण्डेसन’द्वारा राहत वितरण गरिएको छ ।
गत सोमबारको पहिरोले घर र बारी बगाएका गोकणर् भट्ट(सुरेश भट्ट), लालप्रसाद भट्ट र मायादेवी भट्टको परिवारलाई सो फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठले घरमै पुगेर राहत सामग्री हस्तान्तरण गरेकी हुन् । ‘पहिरोले घर बगेको ठाउँमा पुगेर उहाँहरुसँग भेटघाट गरी उहाँहरुलाई अत्यन्तै खाँचो परेको सामग्री दिएको हुँ’, अध्यक्ष श्रेष्ठले भनिन्, ‘लगाउने लुगा कपडा, ओढ्ने, ओछ्याउने कपडा र झुल दिएको छु ।


साथै खाजाका लागि चाउचाउ, बिस्कुट र चिउरा पनि दिएको छु ।’ बिपतमा परेका बेला सहयोग गरेको भन्दै पिडित परिवारले खुशी व्यक्त गरेको पनि उनले बताइन् । पिडित परिबारलाई अझै पनि अत्यावश्यक राहत सामग्री दिनका लागि आफू तयार रहेको उनले बताइन् । ‘बिगतदेखि नै हामीले विपतमा परेका व्यक्ति, परिबारहरुलाई सहयोग गर्दै आएका छौं ।
अझै पनि यस्ता विपतमा परेकाको अबस्था बारे थाहा पाएसम्म मानवीय सहयोग गर्न हामी हरदम तयार छौं’, उनले भनिन् ।




