
गोरखामा आजदेखि सार्वजनिक बस चल्ने
दराैँदी समाचारदाताः लामो समयको लकडाउनपछि बिहिबारदेखि गोरखा बिभिन्न रुटमा सार्वजनिक यातायातका साधन सञ्चालन हुने भएका छन् । बस सेवा सञ्चालन गरिरहेका दरौंदी यातायात सेवा प्रालि र पृथ्वीराजमार्ग बस सञ्चालक प्रालिले जिल्लाभित्रका रुटहरुमा बस सेवा सञ्चालन गर्ने जनाएका छन् । ‘केन्द्रमा मंगलबार निणर्य भयो ।
त्यो निणर्यअनुसार जिल्लाहरुमा आग्रह भएबमोजिम हामी पनि बुधबार दिउसो बैठक बस्यौं’, दरौंदी यातायात सेवा प्रालिका महासचिव अञ्जन खत्रीले भने, ‘अनि हामीले पनि सरकारले तोकेको मापदण्डमा रही जिल्लाभित्रका सबै रुटमा बस सेवा सञ्चालन गर्ने निणर्य गर्यौं ।’ तर अहिले बाढी पहिरोले गर्दा धेरै सडक बिग्रेकाले चलाउन सक्ने सडकहरुमा यातायात सेवा सञ्चालन गर्ने उनले जनाए । दरौंदी यातायात प्रालिका बसहरु जिल्लाका सबै रुटमा चल्ने गर्छन् । पृथ्वी यातायात प्रालिका बस पनि केही ग्रामीण रुटमा चल्ने गर्छन् ।
बिगत चारमहिनादेखि बन्द रहेको टिकट काउण्टर बिहिबार बिहानदेखि खुल्ने पृथ्वीराजमार्ग बस सेवा प्रालिका कार्यालय प्रमुख राजन ढुङ्गानाले जानकारी दिए । ‘अहिलेलाई जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउने सरकारी निर्देशन हो’, उनले भने, ‘पृथ्वीका बसहरु आरुघाट, भच्चेक, बारपाक, मनकामना र सेराका रुटहरुमा चल्नेछन् ।’ चल्ने जति रुटमा बिहिबारदेखि बस चल्ने ढुंगानाले बताए ।




