
गोरखाका मुख्य सबै सडक सुचारुः प्रजिअ पौडेल
दराैँदी समाचारदाताः गत आइतबार, सोमबार र मंगलबारको अबिरल बर्षापछिको पहिरोले अबरुद्ध बनेका ठूला सडकहरु सबै सुचारु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । गोरखा, आरुघाट, गोरखा बारपाक, गोरखा पालुङ्टार, गोरखा भच्चेक, गोरखा ताकुकोट, गोरखा, बुंकोट, नाम्जुङ, घैरुङ सडक सुचारु भएको उनले बताए ।
‘साना शाखा सडकहरुको अबस्थाको बारेमा विस्तृत जानकारी आएको छैन’, उनले भने, ‘तर रणनीतिक सडकहरु कतै दुईतर्फी, कतै एकातर्फी गरी खुलिसकेका छन् ।’
पछि व्यवस्थित तरिकाले बनाउने गरी हाललाई कामचलाउ हिसाबले भनेपनि मर्मतसम्भार गरी सडक सुचारु गरिएको प्रजिअ पौडेलले बताए ।
मध्य पहाडी लोकमार्ग सडक योजना कार्यालय, एघार किलो भालुस्वाँरा बारपाक सडक योजना कार्यालय, पूर्वाधार विकास कार्यालयले ती सडक मर्मत सम्भारको काम गरेको उनले बताए ।




