| शनिबार, कार्तिक २८, २०८३

म्युजिक भिडियो बनाउँदै उत्तरी गोरखा चिनाउँदै स्थानीय कलाकारहरु

दराैँदी समाचारदाताः उत्तरी गोरखाको धार्चे गाउँपालिकामा करिब ८५ प्रतिशत गुरुङ समुदायको बसोबास छ । गुरुङका अलवा केही घले र केही कामी समुदायको बसोबास छ ।
उत्तरी गोरखाकै चुमनुब्री गाउँपालिकामा करिब ९० प्रतिशत भोटेलामा समुदायको बसोबास छ । केही गुरुङ, केही घले, कार्की र केही कामी समुदाय पनि यहाँ बस्छन् ।

त्यस्तै उत्तरी गोरखाको अर्को बारपाक सुलीकोट गाउँपालिकामा पनि वडा नं. १ र २ बारपाकमा घले, गुरुङ र केही कामी समुदाय, वडा नं. ३ स्वाँरामा अधिकांश गुरुङ, वडा नं. ४ सौरपानीमा पनि अधिकांश गुरुङ समुदायकै बसोबास छ ।

दुर्गममा रहेको आफ्नो गाउँठाउँ चिनाउन उत्तरी गोरखाका कलाकारहरुले धमाधम म्यूजिक भिडियो बनाएका छन् । धार्चे गाउँपालिकाले हालै चारवटा म्युजिक भिडियो सार्वजनिक गर्‍यो । जसमा एउटा केरौंजामा प्रचलित नारापर्व सम्बन्धी म्युजिक भिडियो थियो । अर्को भीरकुना गाउँको चिनारी सम्बन्धी थियो । त्यस्तै अर्को चैत ल ने (चैत महिनामा) बोलका म्युजिक भिडियोहरु रहेका थिए ।

गोरखाको स्वाँरा, ठोट्नेरीको चिनारी गराउने ‘रेलिमाई’ म्युजिक भिडियो पनि रिलिज भएको छ । स्वाँराका गायक नवीन गुरुङ र भुम्लिचोककी गायिका कल्पना गुरुङको स्वरमा सजिएको सो म्युजिक भिडियोमा बारपाक सुलीकोट गाउँपालिका वडा नं. ३ स्वाँरागाउँ, ठोट्नेरी, सुलीकोटडाँडा, सीतागुफा आदिको दृष्यलाई प्रवद्र्धन गरिएको छ । वीरबल घले(बिरुप)ले निर्देशन गरेका सो म्युजिक भिडियोमा गोरखाकै कलाकारहरु वीरबल घले(बिरुप), उर्मिला गुरुङ, रोमन राना, सबिना गुरुङ, नवीन गुरुङले नृत्य तथा अभिनय गरेका छन् ।

त्यस्तै गोरखा काशिगाउँकी गायिका सुनिला गुरूङको आवाज रहेको ‘म त चेली उत्तरी गोरखाको’ बोलको गीतको म्युजिक भिडियो युटुबमा रिलिज भएको छ । स्थानीय लोपोन्मुख मौलिक सांस्कृतिक नाचहरू बन्दी दुर्गा नाच, मारूनी नाच र बोन्पो लामा नाचहरू समेत समेटिएकोले भिडियो साँच्चै नै उत्कृष्ट र हेर्न लायक बनेको छ । गणेश गुरूङको शब्द तथा लय रहेको गीतको भिडियो निर्देशन पनि गणेश गुरूङले नै गरेका छन् । सो म्युजिक भिडियोमा उत्तरी गोरखाको काशीगाउँ, माछिखोला, नौली खोला झरना, बुढी गण्डकी लगायत थुप्रै रमणीय स्थानहरूमा छायाङ्कन गरिएकाले सो भिडियोबाट उत्तरी गोरखाको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिएको गायिका सुनिला गुरूङले बताइन् । चर्चित मोडल तथा गुरूङ फिल्मका नायक नायिकाहरू वीरबल घले(विरूप) र अनुता गुरूङको मुख्य मोडलिङ रहेको यस भिडियोमा स्थानीय काशीगाउँका कलाकारहरूले कोरस नृत्य गरेका छन् । धार्चे ४ सिङ्ला गाउँको बारेमा मात्रै तीनवटा म्युजिक भिडियो निर्माण गरिएको कलाकार वीरबल घलेले जानकारी दिए । मेरो प्यारो सिङ्लागाउँ नामको म्युजिक भिडियोमा आइतराम गुरुङको शव्द र पुनम गुरुङको एकल स्वर रहेको छ । सो म्युजिक भिडियोमा भीसी थमन गुरुङ, गाउँको कला संस्कार, संस्कृतिको बयान गरिएको छ । त्यस्तै रुकाङडाँडा नामक म्युजिक भिडियोमा आँशु लामाको शव्द तथा उनी र तारा श्रीस मगरको स्वर रहेको छ ।

त्यस्तै लेकाली ठिटो नामक म्युजिक भिडियो पनि निर्माण गरिएको छ । सो म्युजिक भिडियो धनबहादुर गुरुङ, गणेश गुरुङ, आइतराम गुरुङ, सुनीला गुरुङ मिलेर निर्माण गरेका हुन् । सो गीत गाउँको रोधीघर, पूजाआजा तथा बिभिन्न संस्कार, संस्कृतिमा गाउँले टिपिकल शव्द तथा लय प्रयोग गरिएको छ । ‘आउनू है गुम्दाको आलुमेला’ नामक म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।

सो म्युजिक भिडियोमा धार्चे ५ को गुम्दा गाउँको वणर्न गरिएको छ । साथै बिभिन्न पक्षबाट गुम्दाको पहिचान झल्काइएको छ । सो म्युजिक भिडियोमा आइतराम गुरुङको शव्द, स्वर र संगीत रहेको छ भने तारा श्रीस र तेजेन्द्र गुरुङले साथ दिएका छन् । मीरा र वुद्ध गुरुङले मोडलिङ गरेका छन् । त्यस्तै धार्चे ७ भीरकुनाको प्रवद्र्धन गर्न ‘भीरैभीरको कुना भीरकुना’ नामको भीरकुना गाउँको चिनारी गर्ने म्युजिक भिडियो पनि निर्माण गरिएको छ । सो म्युजिक भिडियोमा शव्द, स्वर, संगीत आइतराम गुरुङको रहेको छ । सो म्युजिक भिडियोमा मिस गुरुङ २०२० सुस्मिता गुरुङ, सेकेण्ड रनर अप जोनिसा गुरुङ, मिसेस गुरुङ २०२० लीला गुरुङलगायतका कलाकारको मोडलिङ रहेको छ ।

त्यस्तै धार्चे ७ लापु गाउँमा चैत ल ने (चैत महिनामा) म्युजिक भिडियो पनि निर्माण गरिएको छ । उज्जल गुरुङको शव्द, आइतराम गुरुङको संगीतमा आँशु लामा र गीता पाइजा मगरको स्वर रहेको छ ।

चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा ‘सिर्दिबास हाम्रो गाउँ’ नामक प्रवद्र्धनात्मक म्युजिक भिडियो निर्माण गरिएको छ । वीरबल घलेको निर्देशन तथा शव्द, आँशु लामाको संगीत र तारा श्रीसको स्वर रहेको सो म्युजिक भिडियोमा उर्मिला गुरुङ, वीरबल घलेलगायत स्थानीय कलाकारहरुको मोडलिङ रहेको छ ।

त्यस्तै सुसाउँदै आयो भोटखोलाबाट नामक म्युजिक भिडियो पनि निर्माण गरिएको छ । चुमनुब्री गाउँपालिका ३ मा निर्माण भएको यस म्युजिक भिडियोमा वीरबल घलेको शव्द, लय तथा स्वर आँशु लामा र तारा श्रीसको रहेको छ । जसमा उर्मिला गुरुङ, वीरबल घलेलगायतको मोडलिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्