
साना सहरीको पानी तीन सातादेखि अबरुद्ध
दरौँदी समाचारदाताः गोरखा नगरपालिका ८ रानीवन क्षेत्रमा तीनसातादेखि खानेपानी सेवा अवरुद्ध भएको छ । खानेपानी सेवा अवरुद्ध हुँदा खाने, नुहाउने, धुने, सौचालयमा प्रयोग गर्ने लगायतका सेवाबाट बञ्चित हुनुपरेको स्थानीय उपभोक्ता शिव अम्गाईले जानकारी दिए ।
पानी वितरण गर्ने संस्था पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग बारम्बार अनुरोध गर्दा पनि अटेरी गरेको उपभोक्ता अम्गाईले गुनासो गरे । ‘पानी अवरुद्ध भएको तीन हप्ता भइसक्यो, अहिलेसम्म सुचारु गराउने प्रयत्न भएको छैन’, उनले भने, ‘पानी उपभोग गर्न नपाएपनि संस्थालाई तिर्नुपर्ने महसुल भने तिर्नुपर्ने हुन्छ । पानी पनि नपाउने, शुल्क छुट पनि नपाउँदा दोहोरो समस्या भयो ।’
सो उपभोक्ता संस्थाका अध्यक्ष विनोद अर्यालले सडक योजनाले वितरण पाइपमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जानकारी दिएका छन् ।
‘तीनधारेदेखि रानीवनसम्म सञ्चालित सडक स्तरोन्नतिका कारण एकसय ५० मिटर पाइपलाइन नष्ट भएको छ’, अर्यालले भने, ‘हामीले निर्माणकर्ता र आयोजना सञ्चालक संस्था गोरखा नगरपालिकालाई पनि सो मर्मतका लागि अनुरोध गरेका छौं । सम्भवतः छिट्टै समस्या समाधान हुनेछ ।’ केहीदिनभित्र कुनै न कुनै उपाय अपनाउने उनले बताए ।




