| शनिबार, कार्तिक २८, २०८३

छेकम्पारमा ६ वटा काठेपुल बगायो

दरौँदी समाचारदाताः उत्तरी गोरखाको तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारमा एक अर्को गाउँ जोड्ने काठेपुल बाढीले बगाएको छ । लगातारको वर्षातपछि सोमवार बिहान सम्म बाढीले नाकी खोला, छुले खोला, छुनाग खोला, स्यार खोला, खुनग्यु, फुच्यून खोलामा रहेको काठेपुल बगाएको हो । स्थानीयले आउजाउ गर्न सजिलोका लागि हालेको काठेपुल बगाएपछि एक गाउँबाट अर्को गाउँ जान, गुम्बा जान, चौँरी याकलाई चरन क्षेत्रमा लैजान समस्या भएको स्थानीय निमा लामाले बताए । बाढीका कारण पैदलमार्ग पनि ठाउँ ठाउँमा भत्किएको छ ।

‘अहिले वर्षात भईरहेको छ, आउजाउलाई समस्या हुने ठाउँहरुमा छिटो निर्माण गर्ने तयारी गरिरहेका छौँ’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले भने ।

वर्षात भईरहँदा पुल मर्मत गर्न भने समस्या भएको छ । ढुवानीको एकमात्र माध्याम खच्चड हिँडाउन र मानिस आउजाउ गर्न नमिल्ने भएपछि स्थानीय समस्या परेका छन् । गोरखामा तीन दिन यता हरेक दिन वर्षात भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्