
८ सय ४१ लाभग्राही थपिँदा गोरखाबाट ६ जना मात्रै
राष्ट्रिय पुन निर्माण प्राधिकरणले बिभिन्न जिल्लाबाट आठ सय ४१ भुकम्प पिडित लाभग्राही थप गरेको मध्ये गोरखाबाट छ जना थपिएका छन् । २१ हजार छ सय गुनासो मध्येबाट गोरखा नगरपालिका १ का एक जना, भिमसेन थापा गाउँपालिका ४ का एक जना, बारपाक सुलिकोट ५ का एक जना थपिएका हुन् ।
यी पूर्ण क्षती अन्र्तगत अर्थात नयाँ घर बनाउन तीन लाख रुपैयाँ अनुदान पाउनेहरुको सुचिमा थपिएका राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाईका सुचना अधिकारी मित्रलाल भट्टराईले बताए । शहिद लखन गाउँपालिका ५ का एक जना, सिरानचोक ८ का एक जना र गोरखा नगरपालिका १ का एक जना ‘रेट्रोफिटिङ’ लाभग्राही कायम भएका छन् ।
यी तीन लाभग्राहीले भने भुकम्पमा चर्किएको अर्थात आंशिक क्षती पुगेको घर मर्मत गर्न एक/एक लाख रुपैयाँ पाउनेछन् । अन्य भुकम्प प्रभावित जिल्लाको अनुपातमा गोरखामा पूर्ण लाभग्राहीको संख्या निकै कम छ । स्थानीय तह र जनपप्रतिनिधी सँग समन्वय गरेर गुनासो सुनुवाई सुरु भएको बेला अन्तिम पटक गोरखमा तीन हजार आठ सय ४३ जनाले गुनासो फराम भरे ।
ती मध्ये तीन सय ५१ जनाको लाभग्राही सुची दुई साता अघि आएको थियो । पहिलो पटक ९४ जना थपिएका थिए । करिब चार सय हाराहारीको मात्रै गुनासो संवोधन भएको छ । उनीहरु पूर्ण लाभग्राही र रेट्रोफिटिङमा कायम भएका छन् । तीन हजार दुई सय भन्दाबढि गैरलाभग्राही देखिएको प्राधिकरणले जनाएको छ ।
गोरखा जस्तै अन्य जिल्लामा पनि अन्तिम पटकका लागि लिइएको भुकम्प पिडितको बिवरणमा गैरलाभग्राही धेरै देखिएका छन् । एकै परिवारका धेरै सदस्यको नाममा अनुदानको पैसा लिन खोज्ने, पहिले लिएकाहरुले फेरी गुनासो फरम भर्ने, एकाघरको सदस्य छुट्टभिन्न भएको कागजात तयार गरेर दोहोरो सुविधा लिन खोज्नेहरुको नाम प्राधिकरणले हटाएको छ ।




